काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हाते ट्याक्टर (पावर टिलर) चोरी तथा खरिद-बिक्रीमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ, ललितपुर र भक्तपुरबाट चोरी भएका १४ थान हाते ट्याक्टर र बा ३१ प २१५९ नम्बरको मोटरसाइकलसहित उनीहरू पक्राउ परेका हुन्।
स्वयम्भू क्षेत्रबाट ट्याक्टर चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा असोज ८ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बाट उनीहरूलाई फेला पारेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा भक्तपुरको चाँगुनारायण नगरपालिका-५ का ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी र १९ वर्षीय राजन मचामसी रहेका छन्।
त्यसैगरी रौतहटको परोहा नगरपालिका-५ घर भई भक्तपुरको बोडेमा कवाड सञ्चालन गर्ने ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रेको पाँचखाल नगरपालिका-४ घर भई कवाड सञ्चालन गर्ने ४८ वर्षीय विपिन कुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चोरी सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ।