नारायणी र दरमखोलामा सतर्कता तह पार, गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र दरमखोलामा पानीको सतह सतर्कता तह पार गरेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरेको छ।

बिहान ६ः५० बजे जारी गरेको सूचनाअनुसार चितवनको देवघाट र बागलुङको वामीटक्सारस्थित जलमापन केन्द्रमा नदीको जलसतह सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बेलुकीसम्म उच्च सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

यस्तै, मौसम पूर्वानुमान महाशाखाले बिहान ६ः३० बजे जारी गरेको सूचनाअनुसार पछिल्लो १२ घण्टामा गुल्मीको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा मापन भएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको बताइएको छ।