पोखरा।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले पहिलो पटक सिधा व्यावसायिक उडान सुरु गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ जना यात्रु बोकेर उडेको फ्लाई दुबईको विमान बुधबार साँझ ६ बजेर १९ मिनेटमा पोखरा विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको हो।
उक्त विमानमार्फत वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरू, विभिन्न देशबाट दुबईलाई ट्रान्जिट बनाएर आएका यात्रु तथा पोखरा भ्रमणमा आएका विदेशी पर्यटकहरू पोखरा ओर्लिएका छन्।
पोखरामा ओर्लिएका यात्रुहरूलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खादा ओढाएर भव्य स्वागत गर्नुभयो। आगमनको एक घण्टापछि उक्त विमान १५३ जना यात्रु बोकेर पुनः दुबईका लागि प्रस्थान गरेको छ।
लामो समयको प्रयास र कूटनीतिक पहलपछि पोखरामा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सम्भव भएको भन्दै स्वागत कार्यक्रममा मेयर आचार्य निकै भावुक देखिनुहुन्थ्यो। उहाँले पोखरालाई सिधा अन्तर्राष्ट्रिय हवाइ सञ्जालमा जोड्न भूमिका खेलेकोमा फ्लाई दुबईलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।
सो अवसरमा मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका मुख्य सूत्रधार, पूर्वपर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको योगदानलाई भावुक हुँदै स्मरण गर्नुभयो। अधिकारीले मन्त्री छँदा र त्यसअघि पनि विमानस्थल निर्माणको सपनालाई साकार पार्न, बजेट तथा पूर्वाधार व्यवस्थापन गर्न र आयोजनालाई गति दिन निर्णायक नेतृत्वदायी भूमिका खेल्नुभएको थियो। स्वर्गीय अधिकारीको त्यही जग र दूरदृष्टिकै कारण आज पोखरामा अन्तर्राष्ट्रिय जहाज अवतरण गर्न सम्भव भएको मेयर आचार्यको भनाइ थियो।
जहाजको सुरक्षित उडान र अवतरणका लागि महानगरको तर्फबाट मुख्य चुनौती बनेको ‘ल्यान्डफिल साइट’ (फोहोर व्यवस्थापन स्थल) स्थानान्तरण गरी उडान अनुकूल वातावरण बनाइएको र कूटनीतिक पहलहरू निरन्तर जारी राखिएको उहाँले बताउनुभयो। साथै, विमानस्थल निर्माणदेखि सञ्चालनसम्म योगदान पुर्याउने राजनीतिक नेतृत्व, अग्रजहरू, नागरिक समाज र सम्पूर्ण पोखरेलीप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
दुबई–पोखरा सिधा उडान सुरु भएसँगै पोखराका पर्यटन व्यवसायीहरू निकै उत्साहित बनेका छन्। यस ऐतिहासिक उडानको खुसीयालीमा पोखराका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूले विमानमार्फत आएका यात्रुहरूलाई विशेष छुटको समेत घोषणा गरेका छन्।
See less