बाढीपहिरोका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिरहेको छ।
यद्यपि भू-प्राविधिक विज्ञहरूले भने हाल पाखो काटेर बनाइँदै गरेको अस्थायी सडकलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने चेतावनी दिएका छन्।
बाढीपछि त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा यातायात सञ्चालनका लागि माथिल्लो भागको पाखो काटेर अस्थायी सडक निर्माण भइरहेको छ। सडक विभागले तत्काल यातायात सञ्चालन सहज बनाउन उक्त विकल्प अघि बढाएको भए पनि भू-प्राविधिक इन्जिनियर उदयराज न्यौपानेले जमिनको अवस्था र नदी कटानलाई मुख्य आधार बनाएर मात्र निर्माण अघि बढाउनुपर्ने बताए।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै न्यौपानेले कृष्णभीरको सडक रहेको स्थान सामान्य बलियो चट्टानी भूभाग नभई नदी तथा पहिरोले थुपारेको कमजोर पदार्थमाथि रहेको जानकारी दिए। सडकको तलबाट नदीले निरन्तर कटान गरिरहेको अवस्थामा माथिल्लो भाग काटेर सडक बनाउँदा जोखिमको प्राविधिक मूल्याङ्कन गर्नु अत्यावश्यक रहेको उनले स्पष्ट पारे।
सडकको भू-प्राविधिक संवेदनशीलताबारे स्पष्ट पार्दै उनले भने, ‘लगभग हामी डिपोजिटमै रोड छौँ। तलबाट खोलाले काटिराछ, पहाड र चट्टान पनि त्यति राम्रो छैन। तलबाट खोला यति ठूलो मात्रामा हिट गरेपछि तलको काटिदिएपछि यो झर्ने त भइनै हाल्यो, धन्न पुरै झरेन।’
कृष्णभीर पुरानो सक्रिय पहिरो क्षेत्रसमेत भएकाले सडक विभागले विज्ञ तथा नेपाल जियोटेक्निकल सोसाइटीसँग परामर्श गरेर पहिरोको साइडबाट पाखो काटी अस्थायी सडक निर्माण गर्ने निर्णय गरेको थियो। सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार अस्थायी सडकको एकतर्फी ट्र्याकमा ग्यासका बुलेटलगायतका सवारीसाधन परीक्षण गरिसकिएको छ। अब सडकमा ग्राभेल राख्ने, सतहमुनिको पानी व्यवस्थापन गर्ने, फ्रेन्च ड्रेन निर्माण गर्ने तथा पानी निकासका लागि होरिजोन्टल ड्रिलिङ गर्ने काम बाँकी रहेको विभागले जनाएको छ।
विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालनको तयारी गरे पनि पहिरो वा अन्य प्राविधिक समस्या देखिएमा अवस्थाअनुसार थप निर्णय गरिने बताएको छ। वर्षा र बाढीको अवस्था सामान्य भएपछि विस्तृत प्राविधिक अध्ययन गरी आवश्यक मर्मत तथा पुनर्निर्माण अघि बढाउने विभागको योजना छ।
तर इन्जिनियर न्यौपानेका अनुसार तत्काल यातायात सञ्चालन गर्नु र दीर्घकालीन रूपमा सडकलाई सुरक्षित बनाउनु फरक विषय हुन्। अहिलेको अस्थायी सडकले तत्कालको समस्या समाधान गरे पनि भौगोलिक जोखिमलाई स्थायी रूपमा हल गर्न सक्दैन। कृष्णभीरमा दीर्घकालीन समाधानका लागि सुरुङ वा वैकल्पिक संरचनाबारे गम्भीर अध्ययन गर्नुपर्नेमा उनले जोड दिए।
दीर्घकालीन उपायबारे बोल्दै उनले भने, ‘अरू दीर्घकालीन उपाय भनेको कि टनेलमा जानुपर्यो, कि पारी एउटा पुल हाल्नुपर्यो र तलपट्टिको कनेक्सन बनाउनुपर्यो। कुन चाहिँ फिजिबल छ, कुन रिजिलियन्ट छ, कुन भायबल छ, त्यो पत्ता लगाएर काम हामीले गर्नै पर्छ।’
कृष्णभीर मुलुककै प्रमुख यातायात सञ्जालसँग जोडिएको महत्त्वपूर्ण मार्ग भएकाले पटक-पटक पहिरो र सडक अवरोधको समस्या दोहोरिन नदिन दीर्घकालीन रूपमा सोच्नुपर्ने उनले बताए। सडकलाई ‘लाइफलाइन’ को संज्ञा दिँदै उनले थपे, ‘यो हाम्रो लाइफलाइन रोड हो। बारम्बार समस्या आइरहेको छ भने त्यसलाई दीर्घकालीन रूपमा सोच्नुपर्छ। हामीले दीर्घकालीन सोच्नैपर्छ, पटक-पटक समस्या भइरहेको ठाउँमा फेरि त्यही तरिकाले मात्रै सोच्यौँ भने दीर्घकालमा समस्या समाधान हुँदैन।’
कृष्णभीरको अहिलेको अवस्था बाढीपहिरोपछि सडक पुनः सञ्चालन गर्ने नेपालको परम्परागत अभ्यास र पूर्वाधारलाई जलवायु तथा प्राकृतिक विपद्का नयाँ जोखिमअनुसार पुनः डिजाइन गर्ने आवश्यकताबीचको उदाहरण बनेको उनको भनाइ छ। सडक बनाउँदा नदीको सम्भावित कटान, पहिरोको सक्रियता, जमिनको प्रकृति र भविष्यमा आउन सक्ने ठूलो बाढीको प्रभावसमेत अध्ययन गर्नुपर्ने उनले सुझाव दिए। पहाडी क्षेत्रमा सडकको तलबाट हुने नदी कटानलाई बेवास्ता गरेर माथिल्लो भागमा मात्रै संरचना थप्दा समस्या अर्को ठाउँमा सर्नसक्ने जोखिम रहन्छ।
सडक विभागले भने तत्कालका लागि अस्थायी व्यवस्थाबाट यातायात सुचारु गर्ने र वर्षायामपछि विस्तृत प्राविधिक अध्ययन गरी स्थायी पुनर्निर्माणतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ।