अलपत्र रिफ्रेस सेन्टर सञ्चालनमा ल्याउने तयारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अलपत्र रिफ्रेस सेन्टर सञ्चालनमा ल्याउने तयारी लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको रुपन्देहीको सालझण्डी–पिपलडाँडास्थित रिफ्रेस सेन्टरलाई चाँडै सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले गृहकार्य अघि बढाएको छ ।

लुम्बिनी प्रदेश सरकारका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार रिफ्रेस सेन्टरको अनुगमन गर्दै आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी गर्न निर्देशन दिएका छन्।

मन्त्री पाण्डेयले खानेपानी तथा सरसफाइ कार्यालय, रुपन्देहीका कार्यालय प्रमुख तथा प्राविधिक टोलीसहित सेन्टरको निर्माण अवस्था, बाँकी रहेका काम तथा सञ्चालनका लागि आवश्यक पूर्वाधारबारे जानकारी लिएका थिए।

निर्माण सम्पन्न भएर पनि लामो समयसम्म प्रयोगमा आउन नसक्दा नागरिकले सेवा पाउन नसकेको भन्दै मन्त्री पाण्डेयले आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिए ।

उनले कार्यालय प्रमुखलाई सेन्टर सञ्चालनका लागि आवश्यक तयारी पूरा गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरे। जनताका लागि निर्माण गरिएका पूर्वाधार लामो समयसम्म अलपत्र राख्न नहुने भन्दै उनले निर्माण सम्पन्न भएका संरचनाबाट नागरिकले तत्काल सेवा पाउने गरी काम गर्न निर्देशन दिए ।

लुम्बिनी प्रदेश सरकारले सर्वसाधारणको यात्रालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले नवलपरासी, रुपन्देही र कपिलवस्तुलगायतका जिल्लामा रिफ्रेस सेन्टर निर्माण गरेको छ।

तर, निर्माण सम्पन्न भएका कतिपय सेन्टर सञ्चालनमा आउन नसक्दा राज्यको लगानीअनुसार नागरिकले प्रतिफल पाउन सकेका छैनन्।

प्रदेश सरकारले निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा अधुरा र अपुरा आयोजनाको अवस्था पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ । सोही क्रममा रिफ्रेस सेन्टरको स्थलगत अनुगमन गरी सञ्चालनमा ल्याउने तयारी थालिएको हो।