कांग्रेसकाे इतर समूहद्वारा आन्तरिक एकता र सङ्गठन सुद‌ृढीकरणमा जोड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कांग्रेसकाे इतर समूहद्वारा आन्तरिक एकता र सङ्गठन सुद‌ृढीकरणमा जोडनेपाली कांग्रेस इतर समूहको ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ले गत साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनका परिमार्जित प्रस्तावहरू सार्वजनिक गर्दै पार्टीको आगामी कार्यदिशा स्पष्ट पारेको छ।

समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा सम्पन्न उक्त भेलाले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्दै १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सङ्कल्प गरेको छ।

प्रेस वक्तव्यमा विगतको निर्वाचन परिणामबारे गम्भीर समीक्षा गरिएको छ। प्रतिनिधि सभामा ८९ सिटबाट ३२ सिटमा खुम्चिनुको मुख्य कारण पार्टीभित्रको मत विभाजन र असहयोग रहेको निष्कर्ष निकालिएको छ। वक्तव्यमा भनिएको छ, “नेपाली कांग्रेसले प्राप्त गर्दै आएको जनमतमा उल्लेखनीय कमी आउनु र विपक्षीको भूमिकामा रहनुपर्ने अवस्था आउनुमा आन्तरिक विग्रह नै मुख्य जिम्मेवार छ।”

सम्मेलनले पार्टीको विधान र पद्धति विपरीत आयोजना गरिएका भनिएका ‘कथित विशेष महाधिवेशन’ जस्ता गतिविधिलाई अवैधानिक ठहर्‍याउँदै त्यसले पार्टीलाई थप कमजोर बनाएको ठहर गरेको छ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख छ। केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न गर्न सबै तहका नेता तथा कार्यकर्तालाई गोलबन्द हुन आह्वान गरिएको छ। सम्मेलनले पार्टीलाई एकताबद्ध बनाएर लैजान सभापति देउवाको नेतृत्वप्रति दृढ विश्वास व्यक्त गरेको छ।

राष्ट्रिय सम्मेलनमा पार्टीका शीर्ष नेताहरूद्वारा प्रस्तुत विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू परिमार्जनसहित सर्वसम्मत पारित गरिएको छ:

विमलेन्द्र निधिद्वारा प्रस्तुत ‘राजनीतिक प्रस्ताव’

डा. प्रकाशशरण महतद्वारा प्रस्तुत ‘नेपाली कांग्रेसको आर्थिक नीति’

उमाकान्त चौधरीद्वारा प्रस्तुत ‘साङ्गठनिक प्रस्ताव’

एन.पी. साउदद्वारा प्रस्तुत ‘मुलुकको समसामयिक विषयसम्बन्धी प्रस्ताव’

रमेश लेखकद्वारा प्रस्तुत ‘कानुन तथा विधानसम्बन्धी प्रस्ताव’

कांग्रेसले अबको यात्रामा युवामैत्री, समावेशी र सशक्त पार्टी निर्माणलाई प्राथमिकता दिने बताएको छ। “शिक्षा-सीप-रोजगारी” को नारालाई अघि सार्दै विदेश पलायन भइरहेका युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने नीति लिइने विज्ञप्तिमा उल्लेख छ। साथै, सूचना प्रविधि र डिजिटल अर्थतन्त्रलाई आत्मसात् गर्दै पार्टीलाई आधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र असंलग्नताको सिद्धान्तमा आधारित सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ। विशेष गरी छिमेकी मुलुकहरू भारत र चीनका साथै अन्य मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई राष्ट्रिय स्वार्थका आधारमा सुदृढ बनाइने बताइएको छ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन सरकारलाई दबाब दिने नीति पनि पार्टीले लिएको छ।

पूर्णपाठ