‘४० वर्षदेखि राष्ट्रपतिमा जितेको जित्यै, तर नागरिकलाई थाहा छैन आफ्ना राष्ट्रपति गर्छन् चाहिँ के ?’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

‘४० वर्षदेखि राष्ट्रपतिमा जितेको जित्यै, तर नागरिकलाई थाहा छैन आफ्ना राष्ट्रपति गर्छन् चाहिँ के ?’मध्य अफ्रिकी मुलुक क्यामरुनमा ९३ वर्षीय पाउल बिया सन् १९८२ देखि निरन्तर सत्तामा छन् । गत वर्ष उनले आठौँ पटक चुनाव जितेर फेरि राष्ट्रपति बने, मानौँ चुनाव जित्नु उनको नियमित जागिर हो र राष्ट्रपति पद उनको लागि स्थायी नियुक्ति । तर अहिलेको दृश्य झन् रोचक छ—जुन ७ मा ‘छोटो निजी भ्रमण’ भन्दै युरोप गएका बिया दुई महिना बितिसक्दा पनि स्वदेश फर्किएका छैनन् ।

सरकार भन्छ, उनी स्विट्जरल्यान्डको जेनेभामा छन् र अस्पतालमा भर्ना भएका छैनन् । तर ३ करोड हाराहारी जनसङ्ख्या भएको देशका नागरिकमा एउटा प्रश्न उठिरहेको छ: राष्ट्रपति देशमै नहुँदा देश चाहिँ कसरी चलिरहेको छ, कि राष्ट्रपतिको अनुपस्थितिलाई नै देशले चलाइरहेको छ ?

बियाको चार दशक लामो शासनमा जन्मिएका धेरै क्यामरुनीका लागि त राष्ट्रपति भनेकै बिया र बिया भनेकै राष्ट्रपति भन्ने भइसकेको छ । त्यसोभए के र कसरी बिमाले राष्ट्रपति पदलाई नै आफ्नो ‘स्थायी नियुक्ति’मा बदलिरहेका छन् त ?

चार दशकभन्दा बढी सत्तामा

बिया सन् १९८२ देखि क्यामरुनको सत्तामा छन् । त्यस वर्ष तत्कालीन राष्ट्रपति अहमदु अहिद्जोले राजीनामा दिएपछि प्रधानमन्त्री रहेका बियाले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

सन् १९८४ मा उनले पहिलोपटक राष्ट्रपतिको निर्वाचन जिते । त्यसपछि बहुदलीय व्यवस्था लागू भएपछि पनि उनले लगातार निर्वाचन जित्दै आएका छन् । गत वर्ष भएको विवादास्पद राष्ट्रपतीय निर्वाचनमा आठौँ कार्यकालका लागि निर्वाचित भएपछि उनी करिब १०० वर्षको उमेरसम्म सत्तामा रहन सक्ने अवस्था बनेको छ ।

निर्वाचनअघि बियाले ‘सबैभन्दा राम्रो समय अझै आउन बाँकी छ’ भन्ने सन्देश दिएका थिए । तर विपक्षीहरूले निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए भने प्रदर्शनकारी र प्रहरीबिचको झडपमा मानिसहरूको मृत्यु भएको थियो ।

बियाको लामो शासनका कारण क्यामरुनको ठुलो जनसंख्याका लागि उनी नै उनीहरूले चिनेका एक मात्र राष्ट्रपति हुन् । ६५ वर्षीय पूर्वशिक्षक नफोर्मी बिमे बियाले पहिलोपटक राष्ट्रपति चुनाव जित्दा २३ वर्षका विद्यार्थी थिए । अहिले उनका आफ्नै छोराछोरीमध्ये जेठो ३२ वर्ष र कान्छो १८ वर्षका छन् ।

image (2)

याउन्डे द्वितीय विश्वविद्यालयका २६ वर्षीय विद्यावारिधि विद्यार्थी तथा युवा समुदाय नेता अबित रियासाई अचाका लागि पनि बियाको शासन क्यामरुनको जीवनकै एउटा स्थायी हिस्सा बनेको छ ।

अचाले गत वर्ष पहिलोपटक मतदान गरेका थिए र ३८ वर्षीय युवा विपक्षी उम्मेदवार सामुएल हिराम इयोदीलाई समर्थन गरेका थिए । उनका अनुसार बियाको लामो समयसम्मको अनुपस्थिति क्यामरुनका नागरिकका लागि नयाँ कुरा होइन ।

तर उनले लामो अनुपस्थितिलाई मानिसहरूले बानी परिसकेको भए पनि देश कसरी सञ्चालन भइरहेको छ भन्नेबारे प्रश्न गर्न छाड्न नहुने बताएका छन् ।

स्वास्थ्यबारे वर्षौंदेखि उठ्दै आएका प्रश्न

बियाको स्वास्थ्य र उनी कहाँ छन् भन्ने विषय क्यामरुनमा लामो समयदेखि चर्चाको विषय बन्दै आएको छ । उनी सार्वजनिक कार्यक्रममा कमै देखिन्छन् र उनको कार्यालयले विगतमा उनी गम्भीर बिरामी भएको वा मृत्यु भएको भन्ने हल्लाको खण्डन गर्दै आएको छ ।

सन् २०२४ मा क्यामरुन सरकारले बियाको स्वास्थ्यबारे सञ्चारमाध्यममा चर्चा गर्नसमेत रोक लगाएको थियो । सरकारले राष्ट्रपतिको स्वास्थ्यसम्बन्धी विषयलाई राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भनेको थियो ।

यसपटक पनि उनको लामो विदेश बसाइपछि सामाजिक सञ्जाल तथा सार्वजनिक क्षेत्रमा स्वास्थ्य अवस्थाबारे प्रश्न उठिरहेका छन् । तर सरकारी प्रवक्ता सादीले राष्ट्रपति बिया जीवित रहेको र ‘चाँडै फर्कने’ बताएका छन् ।

विदेशमै बसेर महत्त्वपूर्ण निर्णय

स्वदेशबाट हजारौँ किलोमिटर टाढा रहे पनि बियाले सरकारका महत्त्वपूर्ण निर्णयहरू गरिरहेका छन् । यसै महिनाको सुरुवातमा उनले ठुलो सैन्य पुनर्संरचनासम्बन्धी निर्णयसमेत गरेका थिए ।

बियाका आलोचकहरूले भने उनको लामो अनुपस्थितिले वास्तविक रूपमा देशको कार्यकारी शक्ति कसरी सञ्चालन भइरहेको छ भन्ने प्रश्न उठाएको बताएका छन् ।

विपक्षी नेता इयोदीले संसद्लाई राष्ट्रपतिको अनुपस्थिति राष्ट्रपद रिक्त भएको अवस्थासरह हो कि होइन भन्ने विषयमा संवैधानिक परिषद्सँग विचार गर्न आग्रह गरेका छन् । तर बियाको सत्तारूढ क्यामरुन पिपुल्स डेमोक्रेटिक मुभमेन्टको संसद्मा बलियो प्रभाव रहेकाले यस्तो पहल सफल हुने सम्भावना कम रहेको विश्लेषण गरिएको छ ।

‘बिया परिवर्तनको आशामा थिए’

बिमेका लागि भने बियाको कथा अहिलेको निराशाभन्दा फरक थियो । सन् १९७० को दशकमा उनले पहिलोपटक बियाको नाम सुनेका थिए । त्यतिबेला बिया स्वतन्त्रतापछिका पहिलो राष्ट्रपति अहमदु अहिद्जोको राष्ट्रपति कार्यालयका महासचिव थिए ।

image

अहिद्जोले सन् १९८२ मा राजीनामा दिएपछि बिया सत्तामा आए । दुई वर्षपछि चुनावी मैदानमा देखिँदा बिमेले उनलाई ‘आशाको प्रतिनिधि’का रूपमा हेरेका थिए ।

त्यतिबेला बियालाई युवा, गतिशील र आकर्षक नेताका रूपमा हेरिएको उनी बताउँछन् । तर त्यतिबेला नयाँ सुरुवातका रूपमा देखिएका नेता दशकौँसम्म सत्तामा रहनेछन् भन्ने धेरैले कल्पना पनि गरेका थिएनन् ।

बियाका आलोचकहरूको असन्तुष्टि उनको लामो शासनकालमा मात्र सीमित छैन । उनीहरूले सामान्य नागरिकको जीवनस्तर सुधार्न सरकार असफल भएको आरोप लगाएका छन् ।

बेरोजगारी, भ्रष्टाचार र कमजोर पूर्वाधार

जर्मनीमा रहेका क्यामरुनी राजनीतिक विश्लेषक कोलिन्स मोलुआ इकोमेले गत अप्रिलमा क्यामरुन भ्रमण गर्दा देशका दीर्घकालीन समस्याहरू प्रत्यक्ष देखेको बताए । उनका अनुसार क्यामरुनका सडक अत्यन्त खराब छन्, विद्युत् आपूर्ति बारम्बार अवरुद्ध हुन्छ, भ्रष्टाचार व्यापक छ र युवाहरूका लागि रोजगारीको अभाव छ ।

डिस्चाङ विश्वविद्यालयका सार्वजनिक तथा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक विल्सन ताम्फुहका अनुसार राष्ट्रपतिले जिम्मेवारी हस्तान्तरण गरेको अवस्थामा प्रधानमन्त्री, राष्ट्रपति कार्यालयका महासचिव तथा मन्त्रीहरूले सरकारका दैनिक काम सञ्चालन गर्न सक्छन् ।

तर मुख्य प्रश्न सरकार चलिरहेको छ कि छैन भन्नेभन्दा पनि देशका दीर्घकालीन समस्या समाधान भइरहेका छन् कि छैनन् भन्ने रहेको उनी बताउँछन् ।

क्यामरुनका नागरिकले अंग्रेजीभाषी क्षेत्रमा वर्षौँदेखि जारी पृथकतावादी द्वन्द्व अन्त्य, जीवनस्तरमा सुधार, राम्रो सडक, रोजगारी तथा शिक्षा हासिल गरेका युवाका लागि अवसर चाहेको ताम्फुहले बताएका छन् ।

बिया गएपछि पनि चुनौतीको पहाड

बिया अन्ततः सत्ताबाट बाहिरिँदा उनका उत्तराधिकारीले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्नेछ । देशको उत्तरी क्षेत्रमा बोको हराम समूहका आक्रमण, अंग्रेजीभाषी क्षेत्रमा जारी द्वन्द्व र युवाहरूमा बढ्दो आर्थिक निराशा प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

स्वास्थ्य सेवा पनि अर्को ठुलो समस्या हो । राजनीतिक विश्लेषक इकोमेका अनुसार धेरै क्यामरुनी नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा अझै पहुँचबाहिर छ ।

तीन करोड हाराहारी जनसङ्ख्या भएको क्यामरुनमा औसत आयु ७० वर्षभन्दा कम रहेको छ । यस्तो अवस्थामा ९३ वर्षीय बियाले विदेशमा उपलब्ध स्वास्थ्य सेवाको पहुँचका कारण लामो जीवन पाएको उनको तर्क छ । उनका अनुसार देशका राजनीतिक तथा आर्थिक अभिजात वर्गले विदेशमा उपचार गराउन सक्ने भए पनि गरिब नागरिकले त्यस्तो सुविधा पाउँदैनन् ।

बिमेका लागि यो प्रश्न अझ व्यक्तिगत बनेको छ: के उनले आफ्नो जीवनकालमै क्यामरुनमा अर्को राष्ट्रपति देख्न पाउलान् ? दशकौँदेखि परिवर्तनको प्रतीक्षा गरिरहेका उनी बिया आफूभन्दा पनि लामो समय बाँच्ने हुन् कि भन्ने चिन्तामा छन् ।

उनको गुनासो छ, देशका शक्तिशाली मानिसहरू सामान्य स्वास्थ्य समस्या हुँदा पनि विदेश उपचारका लागि जान सक्छन्, तर साधारण क्यामरुनी नागरिक पर्याप्त स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाइरहेका छन् ।