मध्य अफ्रिकी मुलुक क्यामरुनमा ९३ वर्षीय पाउल बिया सन् १९८२ देखि निरन्तर सत्तामा छन् । गत वर्ष उनले आठौँ पटक चुनाव जितेर फेरि राष्ट्रपति बने, मानौँ चुनाव जित्नु उनको नियमित जागिर हो र राष्ट्रपति पद उनको लागि स्थायी नियुक्ति । तर अहिलेको दृश्य झन् रोचक छ—जुन ७ मा ‘छोटो निजी भ्रमण’ भन्दै युरोप गएका बिया दुई महिना बितिसक्दा पनि स्वदेश फर्किएका छैनन् ।
सरकार भन्छ, उनी स्विट्जरल्यान्डको जेनेभामा छन् र अस्पतालमा भर्ना भएका छैनन् । तर ३ करोड हाराहारी जनसङ्ख्या भएको देशका नागरिकमा एउटा प्रश्न उठिरहेको छ: राष्ट्रपति देशमै नहुँदा देश चाहिँ कसरी चलिरहेको छ, कि राष्ट्रपतिको अनुपस्थितिलाई नै देशले चलाइरहेको छ ?
बियाको चार दशक लामो शासनमा जन्मिएका धेरै क्यामरुनीका लागि त राष्ट्रपति भनेकै बिया र बिया भनेकै राष्ट्रपति भन्ने भइसकेको छ । त्यसोभए के र कसरी बिमाले राष्ट्रपति पदलाई नै आफ्नो ‘स्थायी नियुक्ति’मा बदलिरहेका छन् त ?
चार दशकभन्दा बढी सत्तामा
बिया सन् १९८२ देखि क्यामरुनको सत्तामा छन् । त्यस वर्ष तत्कालीन राष्ट्रपति अहमदु अहिद्जोले राजीनामा दिएपछि प्रधानमन्त्री रहेका बियाले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।
सन् १९८४ मा उनले पहिलोपटक राष्ट्रपतिको निर्वाचन जिते । त्यसपछि बहुदलीय व्यवस्था लागू भएपछि पनि उनले लगातार निर्वाचन जित्दै आएका छन् । गत वर्ष भएको विवादास्पद राष्ट्रपतीय निर्वाचनमा आठौँ कार्यकालका लागि निर्वाचित भएपछि उनी करिब १०० वर्षको उमेरसम्म सत्तामा रहन सक्ने अवस्था बनेको छ ।
निर्वाचनअघि बियाले ‘सबैभन्दा राम्रो समय अझै आउन बाँकी छ’ भन्ने सन्देश दिएका थिए । तर विपक्षीहरूले निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए भने प्रदर्शनकारी र प्रहरीबिचको झडपमा मानिसहरूको मृत्यु भएको थियो ।
बियाको लामो शासनका कारण क्यामरुनको ठुलो जनसंख्याका लागि उनी नै उनीहरूले चिनेका एक मात्र राष्ट्रपति हुन् । ६५ वर्षीय पूर्वशिक्षक नफोर्मी बिमे बियाले पहिलोपटक राष्ट्रपति चुनाव जित्दा २३ वर्षका विद्यार्थी थिए । अहिले उनका आफ्नै छोराछोरीमध्ये जेठो ३२ वर्ष र कान्छो १८ वर्षका छन् ।
_6Vz7NicVfW.png)
याउन्डे द्वितीय विश्वविद्यालयका २६ वर्षीय विद्यावारिधि विद्यार्थी तथा युवा समुदाय नेता अबित रियासाई अचाका लागि पनि बियाको शासन क्यामरुनको जीवनकै एउटा स्थायी हिस्सा बनेको छ ।
अचाले गत वर्ष पहिलोपटक मतदान गरेका थिए र ३८ वर्षीय युवा विपक्षी उम्मेदवार सामुएल हिराम इयोदीलाई समर्थन गरेका थिए । उनका अनुसार बियाको लामो समयसम्मको अनुपस्थिति क्यामरुनका नागरिकका लागि नयाँ कुरा होइन ।
तर उनले लामो अनुपस्थितिलाई मानिसहरूले बानी परिसकेको भए पनि देश कसरी सञ्चालन भइरहेको छ भन्नेबारे प्रश्न गर्न छाड्न नहुने बताएका छन् ।
स्वास्थ्यबारे वर्षौंदेखि उठ्दै आएका प्रश्न
बियाको स्वास्थ्य र उनी कहाँ छन् भन्ने विषय क्यामरुनमा लामो समयदेखि चर्चाको विषय बन्दै आएको छ । उनी सार्वजनिक कार्यक्रममा कमै देखिन्छन् र उनको कार्यालयले विगतमा उनी गम्भीर बिरामी भएको वा मृत्यु भएको भन्ने हल्लाको खण्डन गर्दै आएको छ ।
सन् २०२४ मा क्यामरुन सरकारले बियाको स्वास्थ्यबारे सञ्चारमाध्यममा चर्चा गर्नसमेत रोक लगाएको थियो । सरकारले राष्ट्रपतिको स्वास्थ्यसम्बन्धी विषयलाई राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भनेको थियो ।
यसपटक पनि उनको लामो विदेश बसाइपछि सामाजिक सञ्जाल तथा सार्वजनिक क्षेत्रमा स्वास्थ्य अवस्थाबारे प्रश्न उठिरहेका छन् । तर सरकारी प्रवक्ता सादीले राष्ट्रपति बिया जीवित रहेको र ‘चाँडै फर्कने’ बताएका छन् ।
विदेशमै बसेर महत्त्वपूर्ण निर्णय
स्वदेशबाट हजारौँ किलोमिटर टाढा रहे पनि बियाले सरकारका महत्त्वपूर्ण निर्णयहरू गरिरहेका छन् । यसै महिनाको सुरुवातमा उनले ठुलो सैन्य पुनर्संरचनासम्बन्धी निर्णयसमेत गरेका थिए ।
बियाका आलोचकहरूले भने उनको लामो अनुपस्थितिले वास्तविक रूपमा देशको कार्यकारी शक्ति कसरी सञ्चालन भइरहेको छ भन्ने प्रश्न उठाएको बताएका छन् ।
विपक्षी नेता इयोदीले संसद्लाई राष्ट्रपतिको अनुपस्थिति राष्ट्रपद रिक्त भएको अवस्थासरह हो कि होइन भन्ने विषयमा संवैधानिक परिषद्सँग विचार गर्न आग्रह गरेका छन् । तर बियाको सत्तारूढ क्यामरुन पिपुल्स डेमोक्रेटिक मुभमेन्टको संसद्मा बलियो प्रभाव रहेकाले यस्तो पहल सफल हुने सम्भावना कम रहेको विश्लेषण गरिएको छ ।
‘बिया परिवर्तनको आशामा थिए’
बिमेका लागि भने बियाको कथा अहिलेको निराशाभन्दा फरक थियो । सन् १९७० को दशकमा उनले पहिलोपटक बियाको नाम सुनेका थिए । त्यतिबेला बिया स्वतन्त्रतापछिका पहिलो राष्ट्रपति अहमदु अहिद्जोको राष्ट्रपति कार्यालयका महासचिव थिए ।

अहिद्जोले सन् १९८२ मा राजीनामा दिएपछि बिया सत्तामा आए । दुई वर्षपछि चुनावी मैदानमा देखिँदा बिमेले उनलाई ‘आशाको प्रतिनिधि’का रूपमा हेरेका थिए ।
त्यतिबेला बियालाई युवा, गतिशील र आकर्षक नेताका रूपमा हेरिएको उनी बताउँछन् । तर त्यतिबेला नयाँ सुरुवातका रूपमा देखिएका नेता दशकौँसम्म सत्तामा रहनेछन् भन्ने धेरैले कल्पना पनि गरेका थिएनन् ।
बियाका आलोचकहरूको असन्तुष्टि उनको लामो शासनकालमा मात्र सीमित छैन । उनीहरूले सामान्य नागरिकको जीवनस्तर सुधार्न सरकार असफल भएको आरोप लगाएका छन् ।
बेरोजगारी, भ्रष्टाचार र कमजोर पूर्वाधार
जर्मनीमा रहेका क्यामरुनी राजनीतिक विश्लेषक कोलिन्स मोलुआ इकोमेले गत अप्रिलमा क्यामरुन भ्रमण गर्दा देशका दीर्घकालीन समस्याहरू प्रत्यक्ष देखेको बताए । उनका अनुसार क्यामरुनका सडक अत्यन्त खराब छन्, विद्युत् आपूर्ति बारम्बार अवरुद्ध हुन्छ, भ्रष्टाचार व्यापक छ र युवाहरूका लागि रोजगारीको अभाव छ ।
डिस्चाङ विश्वविद्यालयका सार्वजनिक तथा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक विल्सन ताम्फुहका अनुसार राष्ट्रपतिले जिम्मेवारी हस्तान्तरण गरेको अवस्थामा प्रधानमन्त्री, राष्ट्रपति कार्यालयका महासचिव तथा मन्त्रीहरूले सरकारका दैनिक काम सञ्चालन गर्न सक्छन् ।
तर मुख्य प्रश्न सरकार चलिरहेको छ कि छैन भन्नेभन्दा पनि देशका दीर्घकालीन समस्या समाधान भइरहेका छन् कि छैनन् भन्ने रहेको उनी बताउँछन् ।
क्यामरुनका नागरिकले अंग्रेजीभाषी क्षेत्रमा वर्षौँदेखि जारी पृथकतावादी द्वन्द्व अन्त्य, जीवनस्तरमा सुधार, राम्रो सडक, रोजगारी तथा शिक्षा हासिल गरेका युवाका लागि अवसर चाहेको ताम्फुहले बताएका छन् ।
बिया गएपछि पनि चुनौतीको पहाड
बिया अन्ततः सत्ताबाट बाहिरिँदा उनका उत्तराधिकारीले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्नेछ । देशको उत्तरी क्षेत्रमा बोको हराम समूहका आक्रमण, अंग्रेजीभाषी क्षेत्रमा जारी द्वन्द्व र युवाहरूमा बढ्दो आर्थिक निराशा प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
स्वास्थ्य सेवा पनि अर्को ठुलो समस्या हो । राजनीतिक विश्लेषक इकोमेका अनुसार धेरै क्यामरुनी नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा अझै पहुँचबाहिर छ ।
तीन करोड हाराहारी जनसङ्ख्या भएको क्यामरुनमा औसत आयु ७० वर्षभन्दा कम रहेको छ । यस्तो अवस्थामा ९३ वर्षीय बियाले विदेशमा उपलब्ध स्वास्थ्य सेवाको पहुँचका कारण लामो जीवन पाएको उनको तर्क छ । उनका अनुसार देशका राजनीतिक तथा आर्थिक अभिजात वर्गले विदेशमा उपचार गराउन सक्ने भए पनि गरिब नागरिकले त्यस्तो सुविधा पाउँदैनन् ।
बिमेका लागि यो प्रश्न अझ व्यक्तिगत बनेको छ: के उनले आफ्नो जीवनकालमै क्यामरुनमा अर्को राष्ट्रपति देख्न पाउलान् ? दशकौँदेखि परिवर्तनको प्रतीक्षा गरिरहेका उनी बिया आफूभन्दा पनि लामो समय बाँच्ने हुन् कि भन्ने चिन्तामा छन् ।
उनको गुनासो छ, देशका शक्तिशाली मानिसहरू सामान्य स्वास्थ्य समस्या हुँदा पनि विदेश उपचारका लागि जान सक्छन्, तर साधारण क्यामरुनी नागरिक पर्याप्त स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाइरहेका छन् ।