नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नियुक्त भएका छन्।

नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गर्नुभएका पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा प्राविधिक एवं नेतृत्वदायी भूमिकामा काम गरेका छन्।

उनले विश्व स्वास्थ्य संगठन नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस तथा क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायतका संस्थामा विभिन्न प्राविधिक तथा नेतृत्वदायी भूमिकामा काम गरेका छन्।

स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास तथा कार्यान्वयन अनुसन्धान उहाँका प्रमुख कार्यक्षेत्र हुन्।

शैक्षिक रूपमा पौडेलले बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्स बाट स्वास्थ्य नीति, योजना तथा वित्तसम्बन्धी स्नातकोत्तर अध्ययन गरेका  छन्।

उनले इन्डोनेसियाको योग्याकार्तास्थित गाड्जाह माडा विश्वविद्यालयको चिकित्सा, जनस्वास्थ्य तथा नर्सिङ संकायबाट सन् २०१९ मा जनस्वास्थ्यमा स्नातकोत्तर उपाधि हासिल गरेका हुन्।