उपभोक्ता ठगी गर्ने तथा नियमविपरीत सञ्चालनमा रहेका व्यावसायिक फर्महरूमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही गरेको छ । विभागले मंगलबार गरेको अनुगमनका क्रममा काठमाडौँका दुई व्यावसायिक फर्मलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
विभागका अनुसार काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरमा सञ्चालित न्यु फेमिली गर्ल्स होस्टेललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । विद्यार्थी भर्ना गर्दा प्यान बिल जारी नगरेको र विद्यार्थीलाई अस्वस्थकर खाना खुवाएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त कारबाही गरिएको हो । त्यसैगरी तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेको (ओभरप्राइसिङ) कसुरमा काठमाडौँको महाराजगञ्जस्थित ओलीज स्टोर प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
अनुगमनका क्रममा कैफियत देखिएका अन्य तीन वटा व्यवसायलाई भने आवश्यक सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागको बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । जसअन्तर्गत ललितपुरको पुल्चोकस्थित ‘खाना डट कम’लाई व्यवसाय दर्ता, कर चुक्ता, प्रयोग भइरहेको क्यूआर कोडको बैंक स्टेटमेन्ट र खरिद–बिक्रीका कागजातसहित उपस्थित हुन भनिएको छ ।
यस्तै, कीर्तिपुरस्थित क्षितिज मेडिकल स्टोरलाई बिक्री गरेको औषधिको मूल्य प्रमाणित गर्ने नमुना औषधि र बिलसहित तथा बुढानिलकण्ठस्थित विश्राम रेस्टुरेन्ट एण्ड बारलाई ग्यास डिलरको प्रमाणपत्र, खरिद–बिक्री बिल र वितरणको विवरणसहित विभागमा बोलाइएको छ ।
विभागको टोलीले अन्य विभिन्न उद्योग तथा पसलहरूलाई सुधारका लागि निर्देशन समेत दिएको छ । अनुगमन टोलीले काठमाडौँको ‘वाटिका ट्रेडर्स’लाई अनिवार्य बिल बिजक जारी गर्न र ललितपुरको ‘संगीज एपरल स्टुडियो’लाई खरिद–बिक्री बिल तथा एमआरपी लेबल व्यवस्थित गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, भक्तपुरको गठ्ठाघरस्थित ’न्यू रिस्सा स्विट्स’लाई खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड पालना गर्न, गाम्चाको ’गायत्री स्पाइसेस एण्ड फुड’लाई नियमित बिल जारी गर्न र दधिकोटको ’गढीमाई तेल मिल’लाई लेबलसहितको एमआरपी स्टिकर भएको मालसामान मात्र बेच्न तथा मूल्यसूची व्यवस्थित गर्न सचेत गराइएको छ ।
यसैबिच, बजार अनुगमनका क्रममा ग्यासको सहज बिक्री वितरण गरिरहेको भन्दै विभागले काठमाडौँ चक्रपथस्थित ‘सीता ग्यास स्टोर’लाई धन्यवाद दिँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिन आग्रह गरेको छ । अर्कोतर्फ, मध्यपुर थिमीको ’भट्ट सप्लायर्स’लाई भने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
