प्रतिनिधि सभाको बैठक बुधबार(भदाै ३) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस र विधेयकमाथिको छलफलपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
बैठकको कार्यसूचीअनुसार विभिन्न चार मन्त्रालयका मन्त्रीहरूले सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको उत्तर दिए। परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क पौडेल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित जिज्ञासाहरूको सम्बोधन गरेका थिए।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) पेस गरेकी थिइन्।
बैठकले परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्तुत गरेको ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यससँगै विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएर संशोधनको प्रक्रिया अघि बढेको छ।प्रतिनिधि सभाको अर्को बैठक आगामी बुधबार दिनको १ बजे पुनः बस्नेछ।