निर्वाचन आयोगले चुनावी व्यवस्थापनका विभिन्न विषयमा पूर्वनिर्वाचन प्रमुख आयुक्त र आयुक्तहरूसँग छलफल गरेको छ। नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूले पद बहाली गरे पश्चात् आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनाहरूका सन्दर्भमा उक्त छलफल गरेको हो।
जसमा निर्वाचन व्यवस्थापनका कानुनी, प्रविधिगत, व्यवस्थापकीय सुधार लगायतका विविध विषयमा छलफल गरी सुधारका लागि सुझाव प्राप्त भएको आयोगले जनाएको छ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई पूरा गर्न र समय सापेक्ष रूपमा यसलाई थप सुदृढ बनाउन आयोगको वर्तमान नेतृत्व सक्षम तथा प्रतिबद्ध रहेको बताएका थिए।
निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, गुरूप्रसाद वाग्ले, डा. राजीव सुब्बा र निमित्त सचिव नारायण प्रसाद भट्टराईको उपस्थिति रहेको थियो।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती र पूर्व निर्वाचन आयुक्तहरू प्रा.डा. वीरेन्द्र प्रसाद मिश्र, विश्वमान श्रेष्ठ, जयराम सिंह बोहरा, नरेन्द्र दाहाल, सुधीर कुमार शाहको उपस्थिति रहेको थियो।