मेयर धनराज आचार्यको प्रस्तावमा बसपार्क र फिर्के क्षेत्र पहिलो प्राथमिकतामा
पोखरा। भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष बलभद्र बास्तोलाको विशेष उपस्थितिमा कास्की जिल्लाका पाँचवटै स्थानीय तहका प्रमुख तथा भूमि समस्या समाधान समिति, कास्कीको संयुक्त बैठक सम्पन्न भएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राख्नुभएको विशेष प्रस्तावलाई सर्वसम्मत स्वीकार गर्दै बैठकले कास्की जिल्लाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कानुनी प्रक्रियालाई तीव्र पार्न तत्काल निस्सा प्रमाणीकरणको काम सुरु गर्ने निर्णय गरेको छ।
मेयर आचार्यको प्रस्तावअनुसार यस अभियानअन्तर्गत पोखरा बसपार्क क्षेत्र र फिर्के खोला आसपासका घरभित्रका तथा जोखिमयुक्त बस्तीहरूलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै कामलाई थप तीव्रता दिने प्रतिबद्धता समेत बैठकमा व्यक्त गरिएको छ