पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु नहुने बताएकी छन् । जननेता मदन भण्डारीको विचारसँग आबद्ध विद्यार्थीहरूको संस्था मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आइतबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन’, भण्डारीको भनाइ छ । उनले समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया भएको पनि बताइन् ।
मदन भण्डारीको राजनीतिक यात्राबाट महत्वपूर्ण कुरा सिक्न सक्ने भन्दै उनले राजनीति जनताबाट अलग भएर गर्न नसकिने पनि बताइन् ।
‘मदन भण्डारीले जनताको भावना, आकाङ्क्षा र वास्तविकतालाई राजनीतिक विचारसँग जोड्ने प्रयास गर्नुभयो’, भण्डारीको भनाइ छ ।
मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै जनताको बहुदलीय जनवाद (जबज) को अवधारणा अघि सारेको स्मरण गर्दै भण्डारीले लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नराखी जनताको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, सामाजिक न्याय र जनताको सहभागितासँग जोडेर हेरेको समेत बताइन् ।
‘आजको पुस्ताले मदन भण्डारीका विचारलाई जस्ताको तस्तै दोहोर्याउनेभन्दा त्यसको मूल मर्मलाई आत्मसात् गर्दै आजको बदलिँदो समय र नयाँ पुस्ताका आवश्यकता र सम्भावनाअनुसार अघि बढ्ने बाटो खोज्नुपर्छ’, भण्डारीको भनाइ छ ।
आज देशमा परिवर्तनका धेरै अपेक्षा छन् । युवा पुस्तामा ऊर्जा छ, नयाँ सोच छ र केही नयाँ गर्ने हुटहुटी छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन्– ‘यही ऊर्जा, सोच र उत्साहलाई देश र समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्न आवश्यक छ । आफ्ना आकाङ्क्षालाई सृजनशील प्रयासमा बदल्दै सुधारका सम्भावना खोज्न र रचनात्मक परिवर्तनमा योगदान गर्न तपाईँहरू अघि बढ्नुपर्छ ।’
उनले देशको भविष्य अरू कसैले नबनाइदिने भन्दै त्यो जिम्मा युवा पुस्ताकै भएको समेत बताइन् । ‘तपाईँहरू लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्न सक्नुभयो भने नेपालको भविष्यप्रति आशावादी हुने पर्याप्त आधार रहन्छ’, भण्डारीको भनाइ छ ।