मेचीनगरले जित्यो ‘झापा १-काठमाडौं कप फुटसल’ को उपाधि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले दोस्रो झापा १-काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

फाइनल खेलमा शान्तिनगरलाई ३-० गोल अन्तरले स्तब्ध पार्दै मेचीनगरले लगातार दोस्रो पटक उपाधि रक्षा गरेको हो।

मेचीनगरको जितमा पात्थुङ्ग नेम्बाङ्ग, राजदीप अधिकारी र प्रतिक सुवेदीले समान एक-एक गोलको योगदान गरे।

यसअघि भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा शान्तिनगरले ज्यामिरगढीलाई पेनाल्टी सुटआउटमा १०-९ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। अर्को सेमिफाइनलमा भने मेचीनगरले बाहुनडाँगीलाई २-० गोलले पन्छाएको थियो।

प्रतियोगितामा झापा क्षेत्र नम्बर-१ अन्तर्गतका साविक सात गाविस (मेचीनगर, दुवागडी, शान्तिनगर, चन्द्रगढी, ज्यामिरगढी, धाइजन र बाहुनडाँगी) को सहभागिता रहेको थियो।

प्रारम्भिक चरणको पहिलो खेलमा ज्यामिरगढीले चन्द्रगढीलाई ५-१ ले, दोस्रो खेलमा मेचीनगरले धाइजनलाई ७-० ले तथा तेस्रो खेलमा शान्तिनगरले दुवागडीलाई ७-३ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए।

सात टोली मात्र सहभागी भएका कारण बाहुनडाँगीले भने सिधै ‘वाकओभर’ पाउँदै सेमिफाइनल खेलेको थियो।

प्रतियोगिताको विधागत पुरस्कारतर्फ च्याम्पियन टोली मेचीनगरका राजदीप अधिकारी सर्वोत्कृष्ट खेलाडी घोषित भए। यस्तै, मेचीनगरकै सोनिश श्रेष्ठ उत्कृष्ट गोलकिपर र सागर थापा उत्कृष्ट डिफेन्डर चुनिए।

शान्तिनगरका विमल तोलाङ्गी उत्कृष्ट स्ट्राइकर बन्दा ज्यामिरगढीका अनमोल राउत सर्वाधिक गोलकर्ता बने।

प्रतियोगिताअन्तर्गत कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटसल खेलसमेत आयोजना गरिएको थियो। जसमा कलाकारको टोलीले राजनीतिकर्मीको टोलीलाई ८-१ को फराकिलो गोल अन्तरले पराजित गर्‍यो।

कलाकारको जितमा मिलन खड्काले ह्याट्रिक गरे भने योगेन्द्र उपाध्याय र प्रशान्त शिवाकोटीले समान दुई-दुई गोल थपे।

मैत्रीपूर्ण खेलमा कलाकारको तर्फबाट चर्चित हास्य कलाकार मनोज गजुरेल, हेमन्त बुढाथोकी, कृष्ण शिवाकोटी, टिका भण्डारी, भानु ढकाललगायत मैदान उत्रिएका थिए।

यस्तै, राजनीतिकर्मीको टोलीबाट नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, नेकपाका रञ्जित तामाङ, नेकपा एमालेका एलपी साँवा र राप्रपाका भक्ति सिटौलालगायतले सहभागिता जनाएका थिए।

उपाधिसँगै विजेता मेचीनगरले नगद २१ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता बनेको शान्तिनगरले नगद ११ हजार रुपैयाँसहित ट्रफी र मेडल पायो।

काठमाडौं मेडिकल कलेजले स्वास्थ्यसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराएको उक्त प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति गगन थापाले गरेका थिए भने विजयी खेलाडी तथा टोलीलाई नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पुरस्कार वितरण गरेका थिए।