नेपालका उच्च हिमाली क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवर्द्धन परियोजना’ सुरु भएको छ। यो परियोजना मुस्ताङको घरपझोङ गाउँपालिकामा सञ्चालन हुनेछ।
परियोजनाले मुस्ताङका स्थानीय ६५ घरधुरी र पाँच वटा संस्थासँग मिलेर काम गर्नेछ। परम्परागत जैविक इन्धनमा निर्भर नरही भरपर्दो ऊर्जा उपलब्ध गराउन सक्ने स्वच्छ ऊर्जा प्रविधिको पहिचान, परीक्षण र प्रवर्द्धन गर्नु यसको मुख्य ध्येय रहेको छ। यस पहलले वातावरणीय प्रभाव न्यूनीकरण गर्नुका साथै हिमाली समुदायको स्वास्थ्य, जीवनस्तर र जलवायु उत्थानशीलता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
नेपालका उच्च हिमाली क्षेत्रका धेरै परिवार कठोर र लामो जाडोमा न्यानो रहन अझै दाउरा तथा अन्य जैविक इन्धनमा निर्भर रहँदै आएका छन्। यस्ता इन्धनले घरभित्रको वायुप्रदूषण बढाउनुका साथै कालो कार्बन उत्सर्जनमा योगदान पुर्याउने र त्यसले हिन्दूकुश हिमालय क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिने प्रक्रियालाई तीव्र बनाउँदै लगेका छन्।
परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले दाउरामाथिको निर्भरता दीर्घकालीन समाधान नभएकाले दिगो ऊर्जा समाधानका लागि यस्ता परियोजनाहरू हिमाली क्षेत्रमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष लालचनले भने, ‘स्वच्छ ऊर्जा प्रविधिमा गरिने लगानी स्वास्थ्य र आर्थिक समृद्धि दुवैका हिसाबले उत्तिकै महत्त्वपूर्ण छ। हाम्रा गाउँहरूमा ऊर्जा दैनिक जीवनको अत्यावश्यक हिस्सा हो। खाना पकाउन मात्र नभई दैनिक कामकाज गर्न र विशेषगरी जाडो मौसममा सहज जीवनयापनका लागि पनि यसको आवश्यकता पर्छ।’
स्थानीय वास्तविकता र प्राविधिक चुनौतीबारे स्पष्ट पार्दै उनले थपे, ‘तर दाउरा दिगो समाधान होइन भन्ने बुझाइ विकास गर्न आवश्यक छ। स्वच्छ ऊर्जा प्रविधिमा लगानी स्वास्थ्य र आर्थिक कल्याण दुवैका लागि उत्तिकै महत्त्वपूर्ण छ भन्ने विषयमा समुदायमा जनचेतना बढाउनुपर्छ। अर्को चुनौती भनेको ऊर्जा उपकरण बिग्रँदा त्यसको मर्मत वा प्रतिस्थापन गर्न कठिन हुनु हो। ग्रामीण क्षेत्रमा आवश्यक प्राविधिक सीप र सेवा सहज रूपमा उपलब्ध हुँदैनन्। समुदायलाई आवश्यक न्यानोपन उपलब्ध गराउँदै स्वच्छ र दिगो ऊर्जा समाधानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो परियोजना सही समयमा आएको छ।’
यस परियोजनाबाट स्वच्छ ऊर्जा प्रविधिसम्बन्धी महत्त्वपूर्ण प्रमाण र सिकाइहरू प्राप्त हुने अपेक्षा गरिएको छ। इसिमोडले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र प्राक्टिकल एक्सन नेपालसँगको सहकार्यमा क्लिन एयर फन्डको आर्थिक सहयोगमा यो परियोजना सुरु गरेको हो।