रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना निवर्तमान अध्यक्ष आङ बाबु राईविरुद्ध कारबाहीका लागि काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा सिफारिस गरेको छ ।

सहकारीमा प्राप्त पीडितको उजुरीको आधारमा सहकारीको सञ्चालक समिति बैठक बसेर कारबाहीको सिफारिसका लागि निर्णय गरेको वर्तमान अध्यक्ष इन्द्रकुमार राईले जानकारी दिए ।

निवर्तमान अध्यक्ष राईले महिला बचतकर्ताहरूको रकम ठगी गर्नुका साथै हिंसात्मक गतिविधि र मानसिक यातना दिएको आरोप लगाउँदै सहकारीको सञ्चालक समिति बैठकले कारबाही गर्न पत्राचार गरेको थियो

सहकारीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले निवर्तमान अध्यक्ष राईउपर हदैसम्मको कारबाही गर्न र ठगी गरिएको रकम असुल उपर गराउनका लागि नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग र काठमाडौँ महानगरपालिकाको सहकारी विभाग समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

p1 (1)

सहकारीका अनुसार निवर्तमान अध्यक्ष राईले एकल महिला लगायतका सर्वसाधारण महिला बचतकर्ताहरूलाई लक्षित गरी ठगी गरेका थिए । निवर्तमान कोषाध्यक्ष अप्सरा श्रेष्ठले पेश गरेको स्पष्टीकरण पत्रबाट खुले अनुसार राईले महिलाहरूको आवाज दबाउन धाकधम्की दिने र शारीरिक तथा मानसिक यातना दिई डिप्रेसनको सिकार समेत बनाएको पत्रमा उल्लेख छ ।

संस्थाका वर्तमान अध्यक्ष इन्द्र कुमार राईद्वारा हस्ताक्षरित उक्त पत्रमा निवर्तमान अध्यक्षको आचरणबाट अन्य धेरै महिलाहरू समेत पीडित भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

पीडितहरूको गोपनीयता सुरक्षित राख्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न र ठगिएको रकम फिर्ता गराउन माग गरिएको छ । साथै, अन्य पीडित महिलाहरू सम्पर्कमा आएमा उनीहरूको निवेदन पनि थप कारबाहीका लागि पठाइने सहकारीले जनाएको छ ।