भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुग्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भेनेजुएलाको भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ । बुधबार साँझ गएका दुई शक्तिशाली भूकम्पमा घाइते हुनेको संख्या तीन हजार ३६२ पुगेको छ । राजधानी काराकास र वरपरका क्षेत्रमा थुप्रै भवन भत्किएकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण गर्ने संस्था युएसजिएसका अनुसार बुधबार साँझ  काराकासबाट लगभग २८४ किलोमिटर पश्चिममा रहेको सान फेलिपनजिकै ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । पहिलो भूकम्प गएको एक मिनेट पनि पूरा नहुँदै राजधानीबाट लगभग २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिकै केन्द्रविन्दु भएर ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले ठुलो क्षति पुर्‍याएपछि सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै खोजी तथा उद्धार कार्य तीव्र बनाएको छ । आपत्कालीन अवस्थापछि देशको मुख्य विमानस्थलदेखि पठनपाठनसम्म बन्द गरिएका छन् । घाइतेको खोजी तथा उद्धारका लागि ठुलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भूकम्पबाट ठुलो क्षति भएको अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छिन् ।

भूकम्पपछि अझै हजारौँ मानिस हराइरहेका बताइएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूहरूले सक्दो सघाउने बताएका छन् । यसअघि अमेरिकी भूकम्प मापन केन्द्र युएसजिएसले भूकम्पका कारण हताहतीको संख्या १० हजारदेखि एक लाखसम्म हुन सक्ने जनाएको थियो । भूकम्पको भग्नावशेषबाट एक नवजात शिशुको उद्धार गरिएको बिबिसीले जनाएको छ ।