अरनिको राजमार्ग असार २२ गतेदेखि राति बन्द गरिने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड असार तेस्रो सातादेखि १५ दिनको लागि सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो।

उक्त सडकखण्ड कालोपत्र गर्ने हुदाँ उक्त अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्नुको साथै  यात्रुवाहक तथा अन्य मालवाहक सवारीसाधनलाई बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म प्रवेशमा रोक लगाउने निर्णय गरिएको  समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

समितिले सडक निर्माणलाई सहजीकरण गर्न यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्ने जनाएको छ। तोकिएको समय अनुसार रातिको समयमा एम्बुलेन्स सहित अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

सवारीसाधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ।