झुटो विवरणका आधारमा नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष र सदस्य पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अङ्गीकृत नेपाली नागरिकताका लागि झुटो विवरणको सरजमिन सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा नम्बर-५ का वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो।

पक्राउ पर्नेहरूमा रंगेली–५ का ५५ वर्षीय वडा अध्यक्ष महानन्द मण्डल र सोही वडाका ४६ वर्षीय वडा सदस्य गणेश ऋषिदेव रहेका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको हो।

प्रहरीका अनुसार रंगेली नगरपालिका वडा नम्बर-५ बस्ने मनुवा कुमार महतोले ‘अधुनुनिया महतो’ आफ्नो आमा रहेको भन्दै नागरिकताका लागि झुटो विवरण पेस गरेका थिए।

सोही विवरणका आधारमा वडा अध्यक्ष मण्डल र रोहवरमा बसेका वडा सदस्य ऋषिदेवले अङ्गीकृत नागरिकताका लागि सरजमिन सिफारिस गरिदिएका थिए।

झुटो विवरणका आधारमा सिफारिस गरिएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न प्रहरीलाई जिम्मा लगाएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका दुवै जनामाथि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ।