नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ यस वर्षको धान रोपाइँमा व्यस्त देखिएका छन् ।
पूर्वी नेपालको भोजपुर घर भएका खापुङले शनिबार सामाजिक सञ्जालमा आफू रोपाइँमा सहभागी भएको भिडिओ सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भिडिओमा उनी खेतको हिलोमा कान्ला सम्याउँदै (बाउसे गर्दै) गरेको अवस्थामा देखिएका छन् । उनको साथमा अन्य स्थानीयवासी र एक हल गोरुले खेत जोतिरहेको दृश्य देख्न सकिन्छ । भिडिओको क्याप्सनमा उनले ‘रोपाइँको पहिलो दिन’ भनी उल्लेख गरेका छन् । साधारण पोसाकमा खापुङ निकै फुर्तीका साथ स्थानीयसँग मुस्कुराउँदै कुराकानी गरिरहेका भिडओमा देखिन्छ । नेपाल प्रहरीको ३२औं आईजीपीका रूपमा कार्यभार सम्हालेका खापुङ गत कात्तिक २६ गते अनिवार्य अवकाशमा गएका थिए ।
उनको कार्यकालमा मुलुकमा जेनजी आन्दोलन चलेको थियो । अवकाशपछि पछिल्लो समय उनी धेरैजसो घरतिरै हुने गरेका छन् ।