माधवकु नेपालले बुझे- अब प्रविधि नबुझी नेतृत्व गर्न सम्भव छैन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सूचना प्रविधि (आईटी) को ज्ञान बिना अबको युगमा राजनीतिक नेतृत्व गर्न असम्भव रहेको बताएका छन्।

शनिबार राजधानीमा आयोजित जनवर्गीय सङ्गठन समन्वय मोर्चाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुको विकल्प नरहेको सुनाए।

सम्बोधनका क्रममा सहसंयोजक नेपालले पार्टीका कतिपय पुराना नेताहरू प्रविधिमा निकै कमजोर रहेको प्रति असन्तुष्टि व्यक्त गरे। ‘हामीलाई आईटी सेक्टरको राम्रो जानकारी भएका साथीहरू चाहिएको छ,’ उनले भने, ‘कतिपयलाई त अझै पनि म्यासेज पठाउन र वेबसाइट हेर्न पनि आउँदैन। मोबाइल हातमा भए पनि यसको सही सदुपयोग हुन सकेको छैन। यस्तो स्थितिमा आजको पुस्तालाई डोऱ्याउन सकिँदैन।’

उनले प्रविधि नबुझ्ने नेताहरूले चाँडै आफूलाई परिष्कृत गर्नुपर्ने धारणा राखे। नेता नेपालले पछिल्लो समय सामाजिक सञ्जालको लहरमा आएका नयाँ शक्तिहरूप्रति लक्षित गर्दै ‘लोकप्रियतावाद’ (पपुलिजम) को आयु छोटो हुने दाबी गरे।

उनले प्रविधिको प्रयोग विचार प्रसार र समाज रूपान्तरणका लागि हुनुपर्नेमा जोड दिए। ‘प्रविधिले मनोवैज्ञानिक प्रभाव पार्न सक्छ, तर विचार र सिद्धान्त बिनाको लहर दिगो हुँदैन,’ उनले थपे।

सङ्गठनलाई गतिशील बनाउन र नागरिकको घरदैलोमा पुग्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले २०३६ सालको आफ्नो भूमिगत कालको अनुभव सुनाउँदै जनतासँग घुलमिल भएर विश्वास जित्न सके मात्र कम्युनिष्ट आन्दोलन बलियो हुने बताए।

‘अहिले नेताहरू जनताको मनमा बस्न सकेका छैनन्, यसलाई बदल्न लगनशीलता चाहिन्छ,’ उनले भने।

सहसंयोजक नेपालले पार्टीको तर्फबाट राजकीय जिम्मेवारी सम्हालेका नेताहरूको कार्यसम्पादन प्रतिवेदन माग गरे। मन्त्री, प्रधानमन्त्री, उपप्रधानमन्त्री वा विभिन्न राजनीतिक नियुक्तिमा पुगेकाहरूले आफ्नो कार्यकालमा के–के राम्रा काम गरे, त्यसको फेहरिस्त बुझाउन उनले निर्देशन दिए।

‘राम्रा कामको प्रचार गरौँ र कमजोरी सच्याऔँ,’ उनले भने, ‘अहिले भ्रष्टाचार, व्यक्तिवाद र अहंकारले गर्दा आन्दोलनमा क्षति पुगेको छ।’