पोखरा महानगरपालिकाले पर्यटकीय सहर पोखरालाई सुन्दर र व्यवस्थित बनाउने अभियान अन्तर्गत पृथ्वीचोक क्षेत्रमा रहेका अवैध तथा अतिक्रमित संरचनाहरू भत्काएपछि अहिले त्यहाँको भग्नावशेष हटाउने कार्य तीव्र पारेको छ ।
महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू हटाउने क्रममा पृथ्वीचोक क्षेत्रमा डोजर चलाएको होविशेष चासोका साथ हेरिएको पृथ्वीचोकस्थित हङकङ बजार अगाडिका अतिक्रमित संरचनाहरूमा महानगरपालिकाले गत जेठ १४ गते डोजर चलाएर भत्काएको थियो । लामो समयदेखि सार्वजनिक बाटो तथा जग्गा अतिक्रमण गरी सञ्चालन भइरहेका ती संरचनाहरू हटाउन महानगरले यसअघि नै आग्रह गरेको थियो । महानगरको आग्रहलाई बेवास्ता गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा महानगरको डोजर टोलीले ती अवैध संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेको हो । ।
अतिक्रमित संरचनाहरू भत्काइएपछि सडक र आसपासको क्षेत्रमा थुप्रिएको ढुङ्गा, इँटा, फलामे डन्डी तथा अन्य फोहोरका भग्नावशेषहरू हटाउन महानगरले अहिले आफ्ना डोजर तथा ट्रिपरहरू परिचालन गरेको छ । व्यस्त सडक किनारमा रहेका यी भग्नावशेषहरूले गर्दा सवारी आवागमन र पैदलयात्रीलाई समस्या परिरहेकाले महानगरले यसलाई तत्काल सफा गर्न लागेको हो ।