नेपाल–भारत सीमा सुरक्षा बैठक: तस्करी, लागूऔषध र डुबान समस्याबारे छलफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतको सितामढीमा नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ । सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, लागूऔषध कारोबार र सीमा अपराध नियन्त्रणलाई केन्द्रमा राखेर आयोजित बैठकमा दुवै देशका सुरक्षा तथा प्रशासनिक अधिकारीबीच विस्तृत छलफल भएको हो ।

शनिबार सम्पन्न दुईदेशीय बैठकमा नेपालतर्फबाट इन्द्रदेव यादव को नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो भने भारतीय उच्च सुरक्षा अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

बैठकमा दिनेश सागर भुसाल, रामुराज कडरिया सहित विभिन्न सुरक्षा निकाय, भन्सार, वन तथा नापी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकमा विशेषगरी भारततर्फबाट हुने मदिरा तस्करी नियन्त्रण र नेपालतर्फ हुने लागूऔषध ओसारपसार रोकथामका विषयमा गम्भीर छलफल भएको रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने तथा संयुक्त समन्वय र सहकार्यलाई थप सुदृढ गर्ने विषयमा दुवै पक्षबीच सहमति बनेको छ ।

बैठकमा रौतहटको डुबान समस्या पनि प्रमुख एजेण्डाका रूपमा उठाइएको थियो । भारतीय पक्षले सीमाक्षेत्र मिचेर निर्माण गरिरहेको बाँधका कारण गौरसहित करिब एक दर्जन सीमावर्ती गाउँ डुबानको उच्च जोखिममा परेको भन्दै नेपाली पक्षले तत्काल समाधानको माग गरेको थियो ।

नेपाल–भारत सीमामा वर्षौँअघि निर्माण गरिएको बाँधमा रहेको स्लुइस गेट बन्द गरी पछिल्लो समय तटबन्ध विस्तार गर्ने क्रममा पानी निकासको संरचनासमेत पुरिएको भन्दै नेपाली अधिकारीहरूले चिन्ता व्यक्त गरेका थिए । पानी निकास अवरुद्ध हुँदा सीमावर्ती नेपाली भूभाग तालजस्तै बन्ने खतरा बढेको उल्लेख गर्दै तत्काल स्लुइस गेट सञ्चालनमा ल्याउन आग्रह गरिएको बैठकमा सहभागी एक अधिकारीले बताएका छन् ।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय तस्करी तथा अवैध गतिविधि बढ्दै गएको अवस्थामा यस्ता बैठकले नेपाल–भारतबीचको सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । सहभागी अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुनी व्यवस्था कायम गर्न संयुक्त प्रयासलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।