राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरु माथि शनिबार हातपातको प्रयास भएको छ ।
कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित विस्तारित बैठकमा असन्तुष्ट कार्याकर्ताहरुले पार्टी प्रतिनिधी र सांसदहरु माथि हातपातको प्रयास गरेका हुन्।
असन्तुष्ट कार्यकर्ताहरु उग्र बनेर प्रतिनिधिसभा सदस्यहरु र पार्टीले खटाएको प्रतिनिधीहरुलाई बैठकमै तानातान गर्न शुरु गरे पछि बैठकबाट रास्वपाका बारा १ का सांसद गणेश धिमाल, २ का चन्दन सिंह ३ का अरविन्द साह, र ४ का रहबर अन्सारी रास्वपाले बारामा खटाएको प्रतिनिधि कामनी चौधरीलगायत नेताहरु बैठकबाट भागेर थिए।
बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्ष मानिने जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरुलाई संगठन बाहिर राख्न खोजिएको आरोप छ।
बर्षै देखि रास्वपा संगठनलाई जिल्लाको स्थानीय तह र वडाहरुमा संगठन बिस्तार गरेका साथीहरुलाई आउने स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट दिनुको साटो सांसदहरुले पहिला नै टिकट बिक्री गरेको थाहा पाएर बैठकमै विवाद शुरु भएको थियो।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ ।
केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता समेत खारेज गरिए पछि रास्वपा बारा जिल्ला भित्रको विवाद थप गहिरिएको छ ।
बैठकमा सहभागी भएको सांसदहरुले आफ्नो गुण्डा लिएर आएको र पु्रानो कार्यकर्ताहरुलाई बोल्न नदिएको देखेर साथीहरुले प्रतिवादमा उत्रनु परेको रास्वपाका संस्थापक अध्यक्ष चन्दन सर्राफले बताएका छन्।
पुराना कार्यकर्ताहरुले सांसदहरुले पहिला नै स्थानीय तहबाट पार्टीबाट बन्ने उम्मेदवारहरुको टिकट बिक्री गरेको थाहा पाएर त्यसको जवाफ माग्न खोज्दा उल्टै उनीहरुलाई प्रहरी र गुण्डा लगाएर कुटन खोजिएको सर्राफले बताए।
बैठकबाट भागेका ज्यान बचाएर रास्वपाका सांसदहरुसँग प्रतिक्रिया लिन खोज्दा उनीहरुले घटनाबारे पत्रकार सम्मेलन गरेर बताउने बताएका छन्।