सामाजिक सञ्जाल टिकटक लगायतका माध्यमबाट महिलाको व्यक्तिगत फोटो र भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गरी आर्थिक लाभ लिने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ स्थायी घर भएका २३ वर्षीय समिर तामाङ रहेका छन् । उनलाई प्रहरीले काठमाडौँ महानगरपालिका वडा नं. १३ कलंकीबाट नियन्त्रणमा लिएको हो ।
तामाङले पीडित महिलाको फोटो सामाजिक सञ्जालमा राखेर ब्ल्याकमेल गर्ने र निजका व्यक्तिगत गोप्य फोटो तथा भिडियोहरू बाहिर ल्याइदिन्छु भन्दै डर–धम्की देखाएर पटक–पटक पैसा असुल गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित महिलाले आफूलाई दुःख हैरानी दिई आर्थिक लाभ लिएको भन्दै कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।
उक्त उजुरीका आधारमा ब्यूरोले गरेको प्राविधिक अनुसन्धान र विश्लेषणपछि तामाङलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
पक्राउ परेका तामाङमाथि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको ब्यूरोले बिहीबार जनाएको छ ।