सरकारी खर्च जोगाउन प्रधानमन्त्री सचिवालयको सर्कुलर: कोठा-कोठामा बालेनको तस्बिर नराख्नू

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सचिवालयले सरकारी कार्यालयहरूमा खर्च मितव्ययिता कायम गर्ने उद्देश्यले अनावश्यक खर्च नियन्त्रण गर्न सम्बन्धित निकायहरूलाई सर्कुलर जारी गरेको छ ।

सचिवालयले मन्त्रालयहरूलाई आन्तरिक सर्कुलरमार्फत कार्यालयका प्रत्येक कोठा-कोठामा प्रधानमन्त्रीको फोटो झुण्ड्याउने प्रचलन रोक्न भनेको हो । आवश्यकता र औचित्यका आधारमा मात्रै फोटो राख्नुपर्ने उल्लेख गर्दै अनावश्यक रूपमा फोटो छपाइ तथा वितरण गर्दा हुने खर्च नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ ।

डिप्लोमेटिक मिसन बाहेकका कार्यालयहरूमा चाहिने स्थानभन्दा पनि कोठा-कोठामा फोटो राख्ने र यसरी खर्च गर्ने परिपाटीलाई रोक्न यस्तो भनिएको स्रोतले जानकारी दिएको छ ।

सरकारी खर्चलाई व्यवस्थित र मितव्ययी बनाउन विभिन्न तहमा पहल भइरहेका बेला प्रधानमन्त्री सचिवालयको यो निर्देशन खर्च कटौतीतर्फको कदमका रूपमा हेरिएको छ ।

कार्यालयहरूमा परम्परागत रूपमा अपनाइँदै आएको फोटो झुण्ड्याउने अभ्यासले अनावश्यक खर्च बढाएको भन्दै यस्तो सर्कुलर गरिएको जनाइएको छ ।

सचिवालयका अनुसार सार्वजनिक स्रोतको दुरुपयोग रोक्न र आवश्यकतामुखी खर्चलाई प्राथमिकता दिन यस्ता कदम आवश्यक छन् । यसै सन्दर्भमा सबै सरकारी निकायलाई मितव्ययिता अपनाउँदै खर्च व्यवस्थापनमा संवेदनशील हुन आग्रह गरिएको छ ।

उक्त सर्कुलरले प्रशासनिक खर्च कटौतीका लागि व्यवहारमै असर पर्ने उपायहरूलाई अघि बढाउने अपेक्षा गरिएको छ । साथै, यसले सार्वजनिक निकायहरूमा जवाफदेहिता र पारदर्शिता बढाउने विश्वास गरिएको छ ।