५/२४ सम्म शक्तिशाली प्रधानमन्त्री–गृहमन्त्री, १२/१४ देखि फौजदारी कसुरका अभियुक्त

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– गत भदौ २२ गते प्रधानमन्त्री र पार्टी अध्यक्षका हैसियतमा रहेका केपी शर्मा ओली गोदावारीस्थित हलमा प्रवचन दिँदै भन्दै थिए,‘विधान महाधिवेशनले नीति पारित गर्छ, अबको एक बर्षपछि हुने महाधिवेशनमा मैं अध्यक्ष हुनेछु।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको प्रस्ताव पनि उनको आग्रहमा सोही हलले अस्वीकार गरी सम्मानित पदमा पुगेको मानिसलाई ‘सम्मानसाथ राख्ने’ निधो भयो।

सोही दिन जेनजी प्रदर्शनको प्रसङ्गमा उनले भनेका थिए,‘के हो यस्तो जेनजी भनेको? उनीहरूलाई पनि संविधान, कानुन थाहा होला नि।’

भदौ २३ गते प्रदर्शन भयो, ब्यापक दमनका क्रममा अन्धाधुन्ध गोली हानेपछि भदौ २४ को विध्वंशका बेला ओली सेनाको हेलिकोप्टरमा भाग्नु परेको थियो।

भदौ २३  गते नै एमाले–कांग्रेसको शक्तिशाली सरकारका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए।

यसबीचमा एमालेको महाधिवेशनमा ओली अध्यक्षमा भारी मतले निर्वाचित भएका थिए। उनी निर्वाचनमा सहभागी हुन्जेलसम्म ६ महिनाका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार रहेको थियो।

२१ फागुनको निर्वाचनपछि भने ओली चुनावमा पराजित मात्र भएनन् उनको दल नै खुम्चिएर तेस्रो भयो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई बहुमत ल्याएर बरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीका रुपमा सिंहदरबारमा छिरे।

यसपछि भने ओलीलाई छोटो समयमा नै अभियुक्त करार गरी अनुसन्धान जारी छ।

जम्मा ७ महिनाअघि मात्र दुवै जना झन्डै दुई तिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्री र गृहमन्त्री रहेका ओली र लेखक जेनजी आन्दोलनका शहीदको हत्यामा जिम्मेवार रहेको भनी फौजदारी कसुरमा अभियुक्तका रुपमा बयान दिने क्रममा छन्।

जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थपेको छ र उनीहरुको बयान अब बुधबार या विहीबारदेखि हुनेछ। ओली स्वास्थ्यका कारण अस्पताल र लेखक प्रहरीको २ नम्बर गणमा छन्।

पहिलोपटक हिरासतमा राख्नका लागि जिल्ला अदालतले ५ दिनको म्याद दिएको थियो। उक्त म्याद पर्याप्त नहुने कारण पुनः म्याद थप गरिँदैछ।

जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले गरेको सिफारिसका आधारमा शनिबार बिहान उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिवेदनले ज्यान मुद्दामा कारबाही सिफारिस गरेको छ। उक्त कसुरमा ३ देखि १० वर्षसम्म सजायको प्रावधान छ। उनीहरूलाई जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते मृत्यु भएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडा खत्रीसमेतको जाहेरीले म्याद थप गरी हिरासतमा राखिएको हो। रसिककी आमा रचना खतिवडा अहिले रास्वपाबाट समानुपातिक सांसद छिन्। सोही जाहेरीमा टेकेर अनुसन्धान भइरहेको छ।

प्रहरीले नेपाल सरकारका सहसचिव तथा उक्त घटनामा काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारीमा रहेका छविलाल रिजालाई मंगलबार पक्राउ गरेको छ।