मानव सेवा र प्रकृति संरक्षणसँग जोडियो मेयर आचार्यको जन्मदिन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, १७ चैत ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम पोखरा शाखामा आश्रित बुवा–आमा तथा दाजुभाइ दिदीबहिनीहरूलाई भोजन गराउनुभएको छ।

मानव सेवा आश्रमको वार्षिकोत्सव (चैत १७) को पावन अवसर र आफ्नो जन्मदिनको संयोग पारेर मेयर आचार्यले आश्रमका सहयोगापेक्षी सदस्यहरूलाई हरेक वर्षझैँ यस वर्ष पनि भोजन गराउने परम्परालाई निरन्तरता दिनुभएको हो।

आश्रममा आयोजित संक्षिप्त कार्यक्रममा मेयर आचार्यले आश्रम परिसरमा एक ‘हलुवाबेदी’ (फलफूल) को बिरुवासमेत रोपण गर्नुभएको छ। प्रकृति संरक्षण र मानवीय सेवालाई सँगसँगै अगाडि बढाउने उद्देश्यले बिरुवा रोपण गरिएको उहाँले बताउनुभयो।

सो अवसरमा मेयर आचार्यले भन्नुभयो, “आश्रमको वार्षिकोत्सवको अवसरमा यहाँ रहनुभएका सम्पूर्ण बुवा–आमा, दाजुभाइ तथा छोराछोरीहरूको सुखद जीवन र संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। जन्मदिनको यो पवित्र क्षणलाई सेवा र प्रकृतिसँग जोड्न पाउँदा खुसी लागेको छ।”

मेयर आचार्यले आफ्नो जन्मदिन मनाउने कार्यमा सहयोग पुर्‍याउनुहुने र शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवादसमेत व्यक्त गर्नुभएको छ। मानव सेवा आश्रमले सडक आश्रित मानवहरूको उद्धार र संरक्षणमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै उहाँले आश्रमको अभियानमा महानगरको सधैँ साथ रहने प्रतिबद्धता समेत दोहोर्‍याउनुभएको छ।