
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेसँगै उनी भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तयारीमा छन्।
पार्टी स्रोतका अनुसार प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी भइरहेको छ। त्यसअघि मन्त्रिपरिषद् गठनका लागि नाम टुंग्याउने काम तीव्र पारिएको छ।
यसक्रममा पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच मन्त्री छनोटबारे उच्चस्तरीय छलफल भइरहेको छ। बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठक सकिएपछि दुवै नेता एउटै गाडीमा बाहिरिएको देखिएको थियो।
स्रोतका अनुसार मन्त्रीहरूको नाम टुंग्याउन दुई नेताबीच गोप्य रूपमा छलफल जारी छ, तर उक्त छलफल कहाँ भइरहेको छ भन्ने सार्वजनिक गरिएको छैन।
पार्टीभित्रकै केही नेताहरूका अनुसार हालसम्म मन्त्रीहरूको नाम अन्तिम रूपमा तय भइसकेको छैन, जसका कारण अन्तिम निर्णयका लागि आन्तरिक गृहकार्य जारी रहेको छ।