
काठमाडौं– जेनजी विद्रोहका क्रममा भदौ २४ गते घरमा आगजनी मात्र नभई पत्नीमाथि नै आक्रमण र आगो लगाइएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको बयान पनि न्यायीक जाँचबुझ आयोगले समावेश गरेको छ।
सरकारले पाएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको बयानमा उनै खनालले पत्नी रविलक्ष्मी चित्रकारमाथि भएको आक्रमणलगायतका विषयमा बोलेका छन्।
उनले चित्रकारलाई सुशीला कार्की नेतृत्वको सरकारले घाइतेको सूचीमा नराखेकोमा आयोगको बयानमा रोष प्रकट गरेका छन्।
उनले बयानका क्रममा २४ गतेको घटना सुनाउँदै भनेका छन्,‘४५ मिनेटको अन्तरालमा मेरो घर र गाडी जलाए, मेरो परिवारजन तेस्रो तलाबाट पनि माथि गएर हारगुहार रोई कराई गरे तर कसैले वास्ता गर्ने कुरा भएन।’
त्यसबीच आफूले छोरा निर्विकलाई फोन गरेको सुनाउँदै खनालले भनेका छन्,‘बा हामीलाई जलाए भनेर भन्यो र फोन बन्द भयो। मेरो श्रीमति बेहोस् भैसकेको रहिछन्। स्वास नली तलैसम्म जलेको रहेछ। अढाई महिनासम्म उनको बोली थिएन।’
श्रीमति बेहोस् हुँदा घोप्टो परेर भएकाले माथिल्लो भाग नजलेको सुनाएका उनले भनेका छन्,‘मेरो मेडमको देब्रे हातचाहिँ चौथो डिग्रिसम्म जलेको रहेछ। उनी अहिले तथाकथित सरकारको लागि घाइते समेत भइनन्।’
उनले आक्रमणकारी र आगजनी गर्नेबारे भनेका छन्,‘छिमेकीको गाडीमा अस्पताल लैजान खोज्दा पनि बचाउन समेत नदिने जल्लादहरुलाई यो सरकारले पक्राउ गरेर कारबाही गर्नुपर्दैन? मेरो म्याडमलाई मार्नैपर्ने कारण के रहेछ?’