नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले एमालेको भविष्य सङ्कटमा परेको भन्दै व्यङ्ग्य गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित लिम्बुवान क्रान्तिकारी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमाले (सूर्य चिन्ह) को शक्ति क्षीण हुँदै गएको र आफ्नो पार्टी (तारा) उदाउँदै गरेको दाबी गरेका हुन्।
‘एकातिर सूर्य अस्त हुन्छ, अर्को तर्फ तारा चम्किरहेको हुन्छ,’ नेता नेपालले भने, ‘हिजो नेपालगन्जमा घाम नलागेर प्लेन ल्यान्ड हुन सकेन, तर रुकुममा टन्टलापुर घाम लागेर हामीलाई सूर्य पर्खिरहेको थियो। हाम्रो कार्यक्रम भएपछि सूर्य अस्त भयो, अनि तारा चम्किन थालेको छ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफ्नो पार्टीप्रति विभिन्न समुदाय र धर्मका मानिसहरूको आकर्षण बढेको दाबी गरे।
‘हिजो मात्र मुस्लिम समुदायका मौलवी-मौलानाहरूको ठूलो सङ्ख्या पार्टी प्रवेश गरेको थियो। आज हिन्दू धर्मका साधु-गुरुहरू पनि विश्वास जताउँदै यहाँ आइपुग्नुभएको छ,’ उनले भने, ‘अब हरे रामा हरे कृष्णाका साथीहरू कहिले आउने हुन् भन्ने मात्र बाँकी छ।’
नेता नेपालले सबै धर्म, संस्कृति र समुदायका मानिसहरूले आफ्नो पार्टीलाई आशाको केन्द्रका रूपमा हेरेको भन्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।