अमेरिकासँग वार्ताका लागि इरान तयार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अमेरिकासँग वार्ताका लागि इरान तयारइरानका विदेशमन्त्री अब्बास अराघचीले आपसी सम्मान र हितका आधारमा अमेरिकासँग वार्ता गर्न इरान तयार रहेको बताएका छन् ।

इरानमा तीन सातादेखि जारी हिंसात्मक प्रदर्शनकै बिच तेहरानमा सोमबार आयोजित विदेशी कूटनीतिज्ञहरूसँगको बैठकमा विदेशमन्त्री अराघचीले वार्ताका लागि आफूहरू तयार रहेको बताएका हुन् । ‘मैले बारम्बार भनेझैँ हामी वार्ताका लागि तयार छौँ, तर समान हैसियतबाट, आपसी सम्मानसहित र आपसी हितमा आधारित, निष्पक्ष र मर्यादित वार्ता हुनुपर्छ,’ उनले भने ।

इरानी विदेशमन्त्रीका यी अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानले वार्ताका लागि फोन गरेको बताएलगत्तै आएको हो । ट्रम्प प्रशासनले तेहरानमा भएको प्रदर्शनपछि हस्तक्षेपका लागि सम्भावित सैन्य विकल्पबारे विचार गरिरहेको जनाएको थियो ।इरान सरकारले अघिल्ला केही महिनादेखि नै वार्ताका लागि आफ्नो तयारी पटक–पटक व्यक्त गर्दै आएको छ ।

इरानी विदेश मन्त्रालयका एक प्रवक्ताले विदेशमन्त्री अराघची र अमेरिकी विशेष दूत स्टिभ विटकोफबिचको सञ्चार माध्यम खुला नै रहेको र आवश्यक पर्दा उक्त माध्यमबाट सन्देशहरू आदान–प्रदान हुने जानकारी दिए ।

अमेरिका र इरानबिच गत वर्ष इरानको आणविक कार्यक्रमबारे अप्रत्यक्ष वार्ता भएको थियो । सन् २०२५ को सुरुआतमा वार्ताका धेरै चरण सम्पन्न भए पनि त्यसपछि इजरायलले इरानमाथि ठुलो स्तरको आकस्मिक आक्रमण सुरु गरेपछि अमेरिका पनि आक्रमणमा संलग्न भएको थियो ।

तेहरानले युरेनियम समृद्धिकरण पूर्ण रूपमा बन्द गर्न र मिसाइल कार्यक्रममाथि सीमाहरू स्वीकार गर्न ट्रम्प प्रशासनले राखेका माग अस्वीकार गरेको छ ।