विश्वप्रकाशको प्रतिवेदन : भदौ २३ र २४ को आन्दोलनबारे जेनजीले आत्मसमीक्षा गर्नुपर्छ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

विश्वप्रकाशको प्रतिवेदन : भदौ २३ र २४ को आन्दोलनबारे जेनजीले आत्मसमीक्षा गर्नुपर्छनेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गते भएका दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा सबैले स्पष्ट रूपमा प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनुपर्ने बताएका छन् ।

भृकुटीमण्डपमा आयोजना भएको विशेष महाधिवेशन बन्द सत्रमा प्रतिवेद पेस गर्दै शर्माले ती दुवै घटनालाई निष्पक्ष छानबिन गरी कारबाही नभए भविष्यमा फेरि देश द्वन्द्वमा फस्न सक्ने उनले स्पष्ट पारेका छन् ।

‘कसैले भदौ २४ को आगजनीको कुरा गर्ने २३ गते अबोध युवाहरू मारिएको घटनालाई दोस्रो प्राथमिकता राख्ने, कसैले भदौ २३ को घटना सम्झिने तर २४ गतेको ध्वंसलाई बिर्सने । यो प्रवृत्तिले हामीलाई फेरि द्वन्द्वमा धकेल्न सक्छ । अत भदौ २३ र २४ दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा हामी सबैथर स्पष्ट रूपले प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनु पर्दछ’, प्रतिवेदनमा भनिएको छ ।२०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह गरिरहँदा कतिपय ठाउँमा बम विस्फोट भएपछि पार्टीले सम्पूर्ण सत्याग्रह स्थगित गरेको स्मरण गर्दै शर्माले इतिहासको त्यो एक उच्चतम नैतिक प्रस्तुति भएको प्रतिवेदनमा भनिएको छ । जेनजीले आफूले प्रदर्शन गरेको आत्म समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘जेनजी प्रदर्शनकारीले आफ्नो प्रदर्शनको आत्मसमीक्षा गरेर त्यति मात्रै जिम्मेवारी आफ्नो भागमा लिनुपर्छ जति तिनको आह्वान, संलग्नता र कर्म हो । भदौ २३ गतेको घटनाका दोषी उपर कारबाही हुनुपर्छ भनिरहँदा त्यो विल्कुल सही छ । अत्यधिक बल प्रयोग मार्फत होनहार युवाहरूको जीवनको समाप्ति इतिहासकै गम्भीर घटना थियो ।’

शर्माले २४ गते राष्ट्रव्यापी रूपमा भएको ध्वंसको घटनालाई अलग छुट्याउन, त्यसको निष्पक्ष र वस्तुगत छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन जेनजी युवाहरूकै विशेष माग बन्नुपर्ने र यसलाई जाँचबुझ आयोग मार्फत निष्पक्ष निरूपण गरिनु उचित हुने स्पष्ट पारेका छन् ।  यसो गरेर भविष्यमा त्यो ध्वंसको धब्बा आफूहरूको शिरमा लाग्न नदिन जेनजी प्रदर्शनका सबै अगुवा र प्रत्येक जेनजी युवा सजग हुन जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।