पार्टी फुट्न नदिन विष पिउन तयार छु : शेखर कोइराला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा उनले पार्टीलाई फुटबाट जोगाउन ‘विष पिउन’ समेत तयार रहेको बताएका हुन् ।

कोइरालाले आफू पार्टीभित्रको एकता कायम गर्न अन्तिम प्रयासमा जुटिरहेको बताए । आफूले सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुँदैन भनेर निरन्तर संवाद गरिरहेको उनले जानकारी दिए । उपस्थित नेता तथा कार्यकर्तालाई आश्वस्त पार्दै उनले ढुक्क भएर पार्टी एकताको पक्षमा लाग्न र निराश नहुन आग्रह गरे ।

छलफलमा सहभागी कानुन व्यवसायीहरूले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैधानिक नभएको तर्क गरे । कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको भन्दै उनीहरूले अहिलेको प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्न नमिल्ने कानुनी राय दिएका थिए ।भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन दुवै पक्षसँग सहजीकरण गरी कांग्रेसलाई एकताबद्ध बनाउन कोइरालालाई सुझाव दिए । छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाललगायत सहभागी थिए । त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको पनि उपस्थिति थियो ।