क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत क्युबा जाने तेल र पैसाको प्रवाह अब रोकिने चेतावनी दिनुभएको हो । यहि जनवरी ३ तारिखमा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई राजधानी काराकसबाट एक कारबाहीका क्रममा नियन्त्रणमा लिएपछि राष्ट्रपति ट्रम्पको ध्यान अब क्युबातर्फ मोडिएको छ । क्युबाको लामो समयदेखिको मित्रराष्ट्र मानिने भेनेजुएलाले टापु राष्ट्र क्युबालाई दैनिक करिब ३५ हजार ब्यारेल तेल पठाउने गरेको विश्वास गरिन्छ ।

ट्रम्प प्रशासनले प्रतिबन्धित भेनेजुएलाको तेल बोकेका ट्याङ्करहरू जफत गर्ने रणनीति अपनाएपछि क्युबामा इन्धन र बिजुलीको संकट गहिरिन थालेको छ । गत शुक्रबार मात्रै अमेरिकाले भेनेजुएलाबाट प्रतिबन्धित तेल बोकेको भन्दै पाँचौं तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो । क्युबा धेरै वर्षसम्म भेनेजुएलाको ठूलो परिमाणको तेल र पैसामा बाँचेको उहाँको भनाइ छ । यसको बदलामा क्युबाले भेनेजुएलाका पछिल्ला दुई तानाशाहलाई’सुरक्षा सेवा’ प्रदान गरेको समेत उहाँले बताउनुभयो । तर अब त्यस्तो नहुने बताउदै क्युबामा जाने तेल र पैसा पूर्ण रूपमा बन्द हुने बताउनुभएको छ । उहाँले सम्झौता गर्न क्युबाली नेतृत्वलाई कडा सुझाव समेत दिनुभयो ।

यद्यपि, राष्ट्रपति ट्रम्पले कस्तो खालको सम्झौता गर्ने वा क्युबाले कस्तो नतिजा भोग्नुपर्ने भन्ने बारेमा भने स्पष्ट पार्नुभएको छैन। उता क्युबाका विदेशमन्त्री ब्रुनो रड्रिग्वेजले भने ट्रम्पको अभिव्यक्तिको प्रतिवाद गर्नुभएको छ।