‘इन्डियन आइडल’ विजेता तथा चर्चित गायक प्रशान्त तामाङको आकस्मिक निधनप्रति पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले गहिरो शोक व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै उनले राष्ट्रिय ख्याति प्राप्त कलाकार तामाङको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्।
मुख्यमन्त्री बेनर्जीले दार्जिलिङको पहाडसँग प्रशान्तको पुर्ख्यौली सम्बन्ध र कुनै समय कोलकाता प्रहरीसँगको आबद्धताका कारण उनी पश्चिम बङ्गालका बासिन्दाका लागि विशेष प्रिय रहेको उल्लेख गरेकी छन्। उनले प्रशान्तको निधनले कला क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै शोकसन्तप्त परिवार, साथीभाइ र उनका असंख्य अनुयायीहरूमा समवेदना प्रकट गरेकी छन्।
प्रशान्त तामाङले इन्डियन आइडलको तेस्रो सिजन जितेपछि नेपाली भाषी समुदायमा मात्र नभई पूरै भारत र नेपालमा ठुलो चर्चा कमाएका थिए। उनको निधनको खबर सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका व्यक्तित्व र उनका प्रशंसकहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।