अर्जेन्टिनी कप्तान लियोनल मेसी भारतको तीन दिन भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । मेसीको तीन दिनको भ्रमणका लागि आयोजकले उनलाई एक अर्ब भारु तिरेको टाइम्स अफ इन्डियाले सोमबार जनाएको छ । आयोजकका प्रमुख सतान्दु दत्ताले अर्जेन्टिनी कप्तानलाई भारतमा ल्याउन आफूहरूले पारिश्रमिक रूपमा ८९ करोड भारु तथा भारत सरकारलाई कर स्वरुप थप ११ करोड भारु खर्च भएको जानकारी दिएका छन् ।
पहिलोपटक मेसी भारतमा आउँदा पहिलो विवाद भएको थियो । कोलकाताको साल्ट लेक सिटी रंगशालामा मेसी १० मिनेट मात्र बसेपछि हजारौँ समर्थकले उपद्रो मच्चाएका थिए । लेक सिटी रंगशालाको व्यवस्था कमजोर भएपछि मुख्य आयोजकका दत्तालाई प्रहरीले पक्राउ गरेको थियो । उनले प्रहरीसमक्ष दिएको बयानमा मेसीमाथि आफूहरूले एक अर्ब भारु खर्चिको उल्लेख गरेका हुन् । समर्थकहरूले जिउमा छुने प्रयास गरेपछि मेसी रंगशालाबाट रिसाउँदै बाहिरिएको प्रहरी समक्ष दत्ताले बयान दिएका छन् ।
‘केही समर्थकले मेसीलाई छुने र अँगालो हाल्ने काम गरेका थिए । जसमा उनी रिसाए । सुरक्षाको दृष्टिकोणले पनि उनी छिट्टै नै रंगशालाबाट बाहिरिएका हुन्,’ दत्ताले भनेका छन् । भारतीय क्रिकेटरहरूले आइपिएलको एक सिजनमा प्राप्त हुने पारिश्रमिकभन्दा चार गुणा बढी पारिश्रमिक दिएर मेसीलाई तीन दिनको भारत भ्रमण गराइएको टाइम्स इन्डियाले जनाएको छ । मेसीलाई उपलब्ध गराएको रकममध्ये ३० प्रतिशत रकम प्रायोजकबाट प्राप्त भएको छ । थप ३० प्रतिशत रकम टिकट बिक्रीबाट उठेकोे दत्ताले बताए ।
‘कोलकाता र हैदराबादमा मेसी पुग्दा रंगशालाका सबैै टिकट बिक्री भएको थियो,’ दत्ताले भने, ‘टिकटबाहेक हामीले प्रायोजकबाट संकलन गरेको रकम एजेन्टको माध्यमबाट मेसीको खातामा राख्यौँ ।’