राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । शुक्रबारमात्रै कारागारबाट रिहा भएका लामिछाने आइतबार साँझ पार्टीका केही नेताहरूसँगै लिएर प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।
लामिछानेसँगै उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू शिशिर खनाल र सोविता गौतम बालुवाटार पुगेका छन् ।
लामिछाने जेलमुक्त भएपछि पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । उनीहरूबीच छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार दिउँसोमात्रै पार्टी कार्यालयमा सम्बोधन गर्नेक्रममा लामिछानेले सरकारको साथमा आफू नेतृत्वको पार्टी रहेको अभिव्यक्ति दिएका थिए ।