ताप्लेजुङमा पशुचौपायामाथि भालुको आक्रमण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 जिल्लाको फुङलिङ नगरपालिका–९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ–९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेडा भालुको आक्रमणबाट मरेका जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् ।

पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा भालु देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

भालुले अलैँचीको टुसासमेत खाएर बगानमा पनि क्षति पुर्‍याएको स्थानीय ताइवान मादेनले बताए ।

अलैँची बगानमा सिँचाइ गर्न र घाँसदाउरा गर्नसमेत त्रास सृजना हुन थालेको उनको भनाइ छ ।

भालु नियन्त्रणका लागि वडा कार्यालयले वन कार्यालयसँग समन्वय गरिरहेको वडाध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।