गत हप्ताको बोन्डी बिच आक्रमणपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षाको घोषणा गरेका छन् । ‘गत आइतबारको आइएसआइएस प्रेरित आतङ्कवादी आक्रमणले हाम्रो देशमा द्रुत गतिमा परिवर्तन भइरहेको सुरक्षा अवस्थालाई प्रकाश पार्छ’ अल्बानिजले भने ।
उनले इस्लामिक स्टेट समूहलाई जनाउन आइएसआइएस शब्द प्रयोग गरेका थिए। ‘हाम्रा सुरक्षा निकायहरू प्रतिक्रिया दिनका लागि उत्तम सम्भव स्थितिमा हुनुपर्छ’ अझ अगाडि अल्बानीजले भनेका छन् ।
यहुदी बिदाको समयमा सिड्नीको समुद्र तटमा दुई बन्दुकधारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यस घटनामा १५ जनाको मृत्यु भएको थियो।
अस्ट्रेलियाले मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आइतबार राष्ट्रिय शोक समारोह मनाउँदै छ । कडा सुरक्षाबिच साँझ ६ ः ४७ बजे एक मिनेट मौन धारण गरिनेछ । तीन दशकमा अस्ट्रेलियामा यो पहिलो यस्तो घटना थियो । सरकारले बन्दुक स्वामित्वसम्बन्धी नियमहरू कडा बनाउने योजना बनाएको बताएको छ ।