नेपाल राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गरेकी छिन् । शनिबार बिहान भएको खेलमा कप्तान सावित्रा सम्मिलित विलिङटन फिनिक्सले सानदार जित निकाल्ने क्रममा सिड्नी एफसीलाई ७–० ले हरायो ।
लिगमा दोस्रो जित निकालेपछि विलिंटन ८ अंकसहित सातौँ स्थानमा उक्लिएको छ । हारपछि पनि ९ अंक रहेको सिड्नी छैटौँ स्थानमा छ । ८ खेलमा अपराजित रहेको मेलबर्न भिक्टोरी १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सावित्राले आफ्नो छैटौँ खेलमा पहिलो गोल गरेकी हुन् । प्रभावशाली प्रदर्शन गरेकी सावित्राले एक्लै दुई गोल गरिन् । ग्रेस जेलको नाममा पनि दुई गोल रह्यो । मानाई इलिओटले एक गोल थपिन् । ७ गोल हुँदा टोरी टुमेथ र सारा हुन्टरले आत्मघाती गोल गरेका हुन् ।
दुई सिजन फ्रेन्च लिग खेलेपछि न्युजिल्यान्डको क्लबबाट खेलिरहेकी सावित्राले छैटौँ खेलमा गोलको खाता खोलेकी हुन् । न्युजिल्यान्डको विलिंटनले अस्ट्रेलियाको लिग खेल्दै आएको छ । टोलीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गरेको थियो ।
इलिओटले तेस्रो मिनेटमै अग्रता दिलाएकी थिइन् । दस मिनेटपछि सानदार हेडरद्वारा सावित्राले टोलीको अग्रता २–० को बनाएकी हुन् । जेलले ३६औँ मिनेटमा गोल गर्दा पहिलो हाफमै टोलीले तेस्रो गोल गरेको थियो । जेलले ५४औँ मिनेटमा टोलीका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरिन् । ६९औँ मिनेटमा सावित्राले पनि व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । ८०औँ मिनेटमा टुमेथ र ९०औँ मिनेटमा हुन्टरले गोल गरेपछि विलिंटन ७–० को फराकिलो जित निकाल्न सफल भएको थियो ।