“हाम्रो लक्ष्य खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु हो, कोरियासँगको सम्झौता कोशेढुङ्गा साबित हुनेछ” – मेयर आचार्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,  – पोखरा महानगरपालिका खेलकुद समिति र गणतन्त्र कोरियाको चियोङ याङ काउन्टी खेलकुद समितिबीच खेलकुद तथा अन्य गतिविधिहरू स्थापनाका लागि एक महत्वपूर्ण समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा यो सम्झौतामा हस्ताक्षर भएको हो ।

यस सम्झौताको मुख्य उद्देश्य दुई सहरबीच मैत्रीपूर्ण सम्बन्धलाई बढावा दिनु, खेलाडी आदानप्रदान कार्यक्रम सुरु गर्नु, पोखराका खेलाडीहरूको प्रदर्शन सुधार गर्नु र कोरियाली खेलकुद सामग्री तथा सेवाहरूको नेपालमा निर्यातका लागि सम्भावना खोज्नु रहेको छ ।

समझदारी अनुसार, फुटबल, बक्सिङ, टेक्वान्डो, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, लन टेनिस, एथलेटिक्स र म्याराथन जस्ता खेलहरूमा खेलाडीहरूको सीप विकासका लागि पोखरा र चियोङ याङबीच खेलाडी आदानप्रदान गरिनेछ । साथै, दुवै सहरका खेलाडीहरूबीच नियमित रूपमा मैत्रीपूर्ण खेलहरू आयोजना गरिनेछ र कोरियाली प्रशिक्षकहरूले पोखराका खेलाडीहरूलाई प्रशिक्षण दिनेछन् ।

यसका अतिरिक्त, युवा आदानप्रदान कार्यक्रमहरू, विद्यालय र विश्वविद्यालय स्तरीय कार्यक्रमहरू, प्रशिक्षण आदानप्रदान, र प्रशिक्षक सहयोग कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ । सम्झौताले पोखराका खेलकुद संस्थाहरूलाई व्यावसायिक व्यवस्थापन कौशल प्रदान गर्न र कास्की जिल्लामा खेलकुद गतिविधिहरूमा सहकार्यका नयाँ क्षेत्रहरू पत्ता लगाउन पनि जोड दिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा भएको हस्ताक्षर कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद समितिका तर्फबाट श्री मिलन गुरुङ र चियोङ याङ काउन्टी खेलकुद समितिका तर्फबाट श्री हान ग्वाङ सोकले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार, पोखरा महानगरपालिका खेलकुद समितिले यसका प्रावधानहरू कार्यान्वयन गर्न नीति तथा संस्थागत प्रणाली विकास गर्ने, खेलाडीका समस्या पहिचान गर्ने, र कोरियाली पक्षसँग समन्वय गर्ने भूमिका खेल्नेछ । त्यसैगरी, चियोङ याङ काउन्टी खेलकुद समितिले सहकार्यका क्षेत्रहरू पहिचान गर्न, कोरियाली खेलकुद प्राधिकरणहरूसँग समन्वय गर्न, अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरू उपलब्ध गराउन, र व्यावसायिक विशेषज्ञता प्रदान गर्न सहयोग गर्नेछ ।

यो समझदारी पत्रले कुनै कानुनी बाध्यता सिर्जना नगर्ने र यसबाट उत्पन्न हुने कुनै पनि विवादलाई कूटनीतिक माध्यमबाट समाधान गरिने कुरा उल्लेख छ । सम्झौता दुवै पक्षले अन्त्य नगरेसम्म मान्य रहनेछ र यसको संशोधन आपसी सहमतिमा गर्न सकिनेछ । यो सम्झौता अंग्रेजी, नेपाली र कोरियाली गरी तीन भाषामा तयार पारिएको छ र कुनै विवाद भएमा अंग्रेजी संस्करणलाई आधार मानिनेछ ।