कुवेतमा १३ नेपालीसहित २३ जनाको मृत्युपछि मदिरा उद्योगलाई कारवाही

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कुवेतमा विषाक्त मदिराका कारण २३ जना आप्रवासी कामदारको मृत्यु भएपछि सुरक्षा निकायले अवैध मदिरा उत्पादन र वितरणमा संलग्न सञ्जालमाथिको कारवाही व्यापक बनाएको छ ।

दुई साताअघि विषाक्त मदिरा सेवन गर्दा कुवेतमा १३ जना नेपालीसहित २३ जना आप्रवासी कामदारको मृत्यु भएको थियो । यस घटनामा १६० जनाभन्दा बढी बिरामी परेर उपचाररत छन् ।

कुवेती अधिकारीहरूले अवैध मदिरा कारखानाहरूलाई विषाक्त रसायन आपूर्ति गर्ने प्रमुख गोदाम जफत गरेका छन् । हावाली अनुसन्धान विभागको प्रतिनिधित्वमा रहेको सामान्य आपराधिक अनुसन्धान विभागले अल(राई क्षेत्रको यो मुख्य गोदाम कब्जा गरेको कुवेती सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यो गोदाम स्थानीय मदिरा कारखानाहरूलाई उत्पादन प्रक्रियामा प्रयोग हुने रासायनिक पदार्थहरू आपूर्ति गर्ने जिम्मेवारीमा रहेको थियो ।

अरब टाइम्सका अनुसार यो गोदाम हाल देश बाहिर रहेका एक इजिप्टियन नागरिकको रहेको जनाएको छ । उनका विरुद्ध आवश्यक कानुनी उपायहरू लिन इजिप्टका सुरक्षा अधिकारीहरूसँग समन्वय भइरहेको जनाइएको छ ।

छापा मार्ने क्रममा गोदाममा विषाक्त रसायनहरूले भरिएका लगभग ३४० प्लास्टिक कन्टेनर फेला परेका थिए । यी पदार्थहरू आधारभूत सुरक्षा मापदण्डहरू नभएको अयोग्य ठाउँमा जथाभावी भण्डारण गरिएको थियो, जसले आगो वा विस्फोट हुनसक्ने खतरनाक अवस्था सिर्जना गरेको थियो ।

यसबाहेक, चुहावट भएमा विषाक्त ग्यास वा वातावरणीय प्रदूषण हुनसक्ने जोखिम पनि थियो, जसले वरपरको क्षेत्रमा जीवन र सम्पत्तिलाई खतरामा पार्न सक्थ्यो ।

यस जोखिमपूर्ण अवस्थालाई नियन्त्रण गर्न जनरल फायर फोर्ससँग समन्वय गरी स्थल सुरक्षित गरिएको थियो । साथै, आवश्यक कानुनी कारबाहीका लागि वाणिज्य तथा उद्योग मन्त्रालय र कुवेत नगरपालिकासँग पनि समन्वय गरिएको अरब टाइम्सले समाचार लेखेको छ ।