राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले साझा एजेन्डा बनाइ जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताएकी छन् ।हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौँमा सम्बोधन गर्दै घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका मूलकहरूको पारिस्थतिकीय प्रणाली सामाजिक र आर्थिक चुनौतीका विषयहरू सबैका साझा मुद्दा रहेको भन्दै यसबारे लड्न सबै मिल्नुपर्ने जरुरी रहेको बताएकी हुन् । हिन्दुकुश हिमालय क्षेत्रमा वायु प्रदूषण, जैविक विविधताको ह्रास, जलवायु परिवर्तनबाट सिर्जित सङ्कट जस्ता विषय साझा चुनौतीका रूपमा देखापरेको उनको भनाई छ । उनले स्वच्छ हावामा श्वास फेर्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै हिन्दुकुश हिमालयन क्षेत्रका विद्यमान जैविक विविधताको उचित संरक्षण र व्यवस्थापन गरेर त्यसबाट समुदायले लाभ प्राप्त गर्ने सम्भावना तथा प्रकृति समाजको जलवायु उत्थानशीलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकार मिलेर साझा एजेन्डामा काम गर्न आवश्यक रहेको पनि बताइन् ।
उपाध्यक्ष घिमिरेले भनिन्, ‘यसका लागि सांसद सदस्यहरूको भूमिकालाई थप स्पष्ट गर्ने, समावेशी र सुदृढ हिन्दुकुश हिमालयन निर्माण गर्न क्षेत्रीय एकता र सहकार्यलाई अझ व्यापक बनाउनुपर्ने विषयलाई जोड दिँदै हिमालदेखि महासागरसम्म सबैको लागि स्वच्छ हावामा श्वास फेर्न पाउने वातावरणको निर्माण गर्नुपर्छ । जैविक विविधताको संरक्षण गर्नुपर्छ । जलवायु परिवर्तनबाट पर्ने असरलाई सम्बोधन गर्ने, हिन्दकुश हिमालय क्षेत्रका मुलुकहरूको महत्त्वाकाङ्क्षी कदमहरू चाल्नुपर्नेछ ।’
उपाध्यक्ष घिमिरेले भूगोलले फरक ठाउँमा भए पनि समस्या साझा रहेको बताइन् । एकीकृत कानुन निर्माण गरेर समस्याहरूको सम्बोधन गर्न जरुरी रहेको उनको भनाई छ ।