पोखरामा एच.ए. र फार्मेसी कक्षा पुन सुचारु हुने, मेयर आचार्यको पहलमा सम्भव

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा महानगरपालिका अन्तर्गत सञ्चालन हुँदै आएको गण्डकी बहु-प्राविधिक शिक्षालयमा एच.ए. (हेल्थ असिस्टेन्ट) र फार्मेसी कक्षा पुनः सुचारु हुने भएको छ। पछिल्ला दिनहरूमा देखिएको अन्योलता र केही अनधिकृत गतिविधिहरूका कारण कार्यक्रम स्थगित हुने चर्चा भएपनि, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको सक्रिय पहलपछि उक्त अध्ययन कार्यक्रम निरन्तरता पाउने भएको हो।

सीटीईभीटी (CTEVT) भित्र देखिएको प्रशासनिक अन्योलता र प्रक्रियागत ढिलाइका कारण केही समय भर्ना रोकिएको थियो। तर, मेयर आचार्यले निकै लामो समयदेखि गरेको प्रयास र निरन्तर पहलपछि अन्ततः भर्ना खुला गरिने भएको छ। उहाँले सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग निरन्तर संवाद गर्दै विद्यार्थीहरूको भविष्यमा असर नपरोस् भन्ने दृष्टिकोणसहित व्यक्तिगत रूपमा नै विभिन्न मन्त्रालय र कार्यालयहरूमा पहल गर्नुभएको हो।

यस क्रममा प्रशासनिक अन्योलताको टुङ्गो लगाउनतर्फ सहयोग पु¥याउने शिक्षामन्त्री रधुजी पन्त, शिक्षा सचिव चुडामणी पौडेलसहित शिक्षा मन्त्रालय र सीटीईभीटीको सम्पूर्ण टिमलाई मेयर आचार्यले विशेष धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले विद्यार्थीहरूको भविष्यलाई सुरक्षित गर्न सबै पक्ष मिलेर अघि बढ्नु जरुरी रहेको समेत बताउनुभयो।

पोखरा महानगरपालिकाले स्थापना गरेको गण्डकी बहु-प्राविधिक शिक्षालयले स्थानीय तहमै स्वास्थ्यसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। एच.ए. र फार्मेसी कार्यक्रम सञ्चालनमा आउनु क्षेत्रीय रूपमा स्वास्थ्य शिक्षा र जनशक्ति विकासका लागि ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ।