“पोखरा–बुटवल यात्रा ६ घण्टाबाट २.५ घण्टामा, सिद्धार्थ राजमार्ग स्तरोन्नति योजना अघि बढ्दै”

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

२०२२ सालमा निर्माण सुरु भई २०२८ सालमा पोखरासम्म जोडिएको सिद्धार्थ राजमार्ग सुधार परियोजना अन्तरगत स्तरोन्नतिको क्रममा रहेको छ । यसका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदन सार्वजनिक गरी सुझाव समेत माग गरिसकेको छ ।

यस परियोजनामा काम गर्नका लागि एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैक (एआइआइबी) ले चासो देखाएको छ । हाल १५७ किलोमिटर रहेको यो सडक स्तरोन्नति सहित वैकल्पिक मार्गहरू समेत निर्माण गरी छोट्टाउन सकिने विकल्पका बारेमा पनि अध्ययन भइरहेको छ । अध्ययन अनुसार २३ किलोमिटर सुरुङ मार्ग, ०.८६ किलोमिटर पुल, २.९५ किलोमिटर वायाडक्ट, ७४ किलोमिटर स्तरोन्नति र ११.७ किलोमिटर नयाँ सडक निर्माण गर्दा कुल लम्बाई ११२.८१ किलोमिटर हुनेछ । सडक सबै मौसममा सुचारु रहने डबल बिटुमिनस सर्फेस ट्रिटमेन्ट मापदण्ड अनुसार स्तरोन्नति र पुलहरूको मर्मत सम्भार गर्ने योजना रहेको छ ।

एआइआइबीको तर्फबाट स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्ट (SchEMS) ले स्वअध्ययन गरिरहेको छ । उक्त टोलीले शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरी पोखरा खण्डका विषयमा छलफल गरेको छ । छलफलका क्रममा सडकको स्तरोन्नति आवश्यक रहेको भन्दै नगर प्रमुख आचार्यले पोखरा खण्ड विस्तारका लागि आवश्यक सहयोग र सहजिकरणका गर्न आफूहरू तयार रहेको बताउनुभयो । पोखरा महानगरपालिकाको वडा नं.१७, २१ र २२ का विभिन्न स्थानहरू हुँदै जाने सडक खण्डमा स्थानीय समस्याहरू समाधानका लागि तत्पर रहेको उहाँले बताउनुभयो ।

पोखराको पृथ्वीचोकदेखी हालको सिद्धार्थराज मार्ग स्याङ्जा फेदिखोलासम्म पुग्दा नयाँ एलाइनमेन्ट अनुसार दुरी र समयका हिसाबले निकै छोटो पर्नेछ । करिब ६ घण्टा लाग्ने पोखरा–बुटवल सडकको यात्रा सडकको स्तरोन्नति पश्चात् २.५ घण्टामा पुरा हुनेछ । शुक्रवार नै नगर प्रमुख आचार्यले सम्बन्धित वडाका अध्यक्षहरूलाई प्राविधिक टोलीसहित स्थलगत अनुगमनका लागि निर्देशन गर्नुभएको छ । यो सडकको स्तरोन्नतिले आधुनिक विकाससँग सामुदायिक पहुँच स्थापित गर्नेछ ।

टोलीमा स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्ट (SchEMS) का डा.तेज बहादुर कार्की, अजय भक्त माथेमा, प्रतीक कर्माचार्य र विनोद अर्याल रहेका थिए ।