म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

म्याग्दीको मालिका गाउँपालिका–५ ठुलो ढाटरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मंगलबार दिउँसो पौने ४ बजे दरवाङ–रुम भित्री सडकखण्डमा दरवाङबाट रुमतर्फ जाँदै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेको हो ।

दुर्घटनामा परि मालिका–५ रुनकी ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया श्रीजना घर्ति र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन् ।

चालक पुन र भविराजको टाउको, हात र खुट्टामा चोट लागेको छ भने श्रीजनालाई बाहिरी चोट नदेखिएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूलाई उपचारका लागि दरवाङ आधारभूत अस्पतालमा ल्याइएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमदास ढकालको कमाण्डमा प्रहरी टोली पुगेको छ ।