पोखराबाट झण्डै साढे ६ किलो सुनसहित ११ जना भारतीय पक्राउ परेका छन् । उनीहरूलाई साउन २३ गते पोखरा महानगरपालिका वडा नं। २, ३, ४ र ९ का क्षेत्रहरूमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कास्की प्रहरीले चलाएको ‘अपरेशन एल्लो मेटल’ मार्फत उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत कलकत्ता घर भई हाल पोखरा २ मोहरिया टोल बस्ने ४५ वर्षका मनिक लाल आदक, भारत पश्चिम बंगाल हुग्ली घर भई पोखरा १ बिन्दवासिनी बस्ने ३५ वर्षका सन्दिप ढाव, भारत महाराष्ट्र घर भई हाल पोखरा २ मोहरिया टोल बस्ने ४१ वर्षका राजेन्द्र रामचन्द्र जगताप, भारत घर भई पोखरा मोहरिया टोल बस्ने ४१ वर्षका सोमनाथ पाल, भारत पश्चिम बंगाल, कलकत्ता घर भई हाल पोखरा ४ तेर्सापट्टी बस्ने ४७ वर्षका दीपक सामन्त, भारत पश्चिम बंगाल, मेद्नापुर घर भई हाल पोखरा ३ बस्ने ४७ वर्षका गोविन्दा दिण्डा,भारत कलकत्ता घर भई पोखरा ९ चिप्लेढुङ्गा बस्ने ३५ वर्षका असित वर, भारत कलकत्ता, घर भई हाल पोखरा २ मोहरिया टोल बस्ने ४४ वर्षका तापस सामन्त, भारत कलकत्ता, मेद्नापुर घर भई हाल जिल्ला कास्की पोखरा २ भैरवटोल बस्ने ३८ वर्षका उज्ज्वल भोमिक, भारत महाराष्ट्र, पुने घर भई पोखरा ८ सभागृह बस्ने ४० वर्षीया सुनिता पवार र भारत घर भई हाल पोखरा २ मोहरिया टोल बस्ने ४९ वर्षका प्रोभास माझी रहेको शनिवार पोखरा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरूबाट ५ सय ४९ तोला सुन, ४ सय ४४ तोला ७३ दशमलव ९ लाल चाँदी र ५ लाख १४ हजार ६ सय ६५ रुपैयाँ नगद बरामद गरिएको हो ।
पक्राउ परेकाहरूले आफूलाई कालीगढका रुपमा परिचित गराएपनि उनीहरु नै बरामद सुनचाँदीको असली मालिक रहेको एसपी ओलियाको दावी छ । पक्राउ परेका ११ जनासहित गरगहनालाई राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने एसपी ओलियाको भनाई छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।