एएफसी यू–२० महिला एसियन कप छनोट : नेपाल भुटानसँग रोकियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल एएफसी यू–२० महिला एसियन कप छनोट २०२५ को पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको छ।

बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा ३८ सेकेन्डमै अग्रता बनाएको नेपाल अंक बाँढ्न बाध्य भएको हो। यो खेलपछि समूह ‘ए’ मा नेपाल र भुटान दुवैले समान एक अंक बाँढेका छन्। समूहमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० हराउँदै तीन अंक जोडेको छ।

नेपालले घरेलु टोलीविरुद्ध खेल सुरु भएको ३८ सेकेन्डमै अग्रता लिएको थियो। सुरुमा सेनु परियारले गोल गरिन्। अट्याकिङ मिडफिल्डर सुक्रिया मियाले लेफ्ट साइडबाट दिएको क्रसलाई बक्सभित्र भुटानका खेलाडीले क्लियर गर्न सकेनन्। सोही प्राप्त बललाई नियन्त्रणमा लिँदै सेनुले गोल गरेकी हुन्। उनलाई रोक्ने प्रयास गरे पनि भुटानी गोलिकिपर पेमा याङ्जोम सफल भइनन्।

सुरुमै गोल बेहोरेको भुटानले १८औँ मिनेटमा बराबरी गोल फर्कायो। उसको लागि केल्देन वाङ्मोले गोल गरिन्। उनले नामसेल वाङ्जोमको पासलाई सदुपयोग गरेकी हुन् । नेपाली रक्षक सिम्रन राईलाई बिट गरेकी केल्देनले गोलकिपर लीला जोशीलाई पनि छक्याउँदै गोल गर्न सफल भएकी थिइन्।

समूह ‘ए’ मा नेपाल र भुटानसँगै साउदी अरेबिया र तीनपटक विश्वकप जितिसकेको उत्तर कोरिया छन्। साउदीलाई १५–० ले हराएको उत्तर कोरियाले तीन अंक हासिल गरेको छ। समूहको शीर्ष टोलीले सिधै थाइल्यान्डको टिकट काट्नेछ। यस प्रतियोगितामा छनोट भएका राष्ट्रले अर्को वर्ष थाइल्यान्डमा हुने फाइनल चरणको प्रतियोगिता खेल्नेछन्।