मेयर आचार्यको पहल: पोखरामा अब स्वास्थ्य केन्द्रबाटै आँखा जाँच र बीमा, नागरिकलाई ठूलो राहत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा महानगरपालिकाले आफ्ना नागरिकलाई सुलभ र सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एक महत्वपूर्ण कदम चालेको छ। महानगरले अब स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाटै आँखा जाँच र स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने भएको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निर्देशनमा  नयाँबजारस्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट औपचारिक रुपमा  कार्यक्रमको गरिएको छ।

मेयर आचार्यले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन महानगर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो प्रयास हरेक नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने हो। अब सामान्य आँखा जाँचका लागि अस्पताल धाइरहनु पर्ने बाध्यता हट्नेछ र स्वास्थ्य बीमाको पहुँच पनि विस्तार हुनेछ।”

यस कार्यक्रमको सुरुवातसँगै पोखरावासीले अब आफ्नै वडामा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट आँखा जाँचको सुविधा पाउनेछन्। यसअघि आँखाको समस्या पर्दा अस्पताल नै पुग्नुपर्ने अवस्था थियो, जसले गर्दा समय र पैसा दुवै खर्च हुन्थ्यो।

कार्यक्रम शुभारम्भ समारोहमा बोल्दै वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले महानगरको यस कदमको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “यो जनताका लागि निकै राम्रो कार्य भएको छ। पहिला आँखाको उपचार गर्न अस्पताल नै जानुपर्ने थियो, तर अब जनताले घरदैलोमै सुलभ आँखा उपचार सेवा पाउनेछन।

आँखा जाँचका अतिरिक्त यी केन्द्रहरूबाट स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालन हुनेछ। यसअघि नयाँबजार, सिसुवा अस्पताल, कृष्ति र अर्मलाका स्वास्थ्य केन्द्रहरूबाट स्वास्थ्य बीमाको सेवा प्रदान गरिँदै आएको थियो।

महानगरपालिकाले आगामी असोज महिनादेखि वडा नं. १७ स्थित बिरौटा र वडा नं. २५ स्थित हेम्जा स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा पनि स्वास्थ्य बीमासहितका अन्य सेवाहरू विस्तार गर्ने योजना बनाएको छ। थप उपचार आवश्यक पर्ने बिरामीहरूका लागि प्रवर्द्धन केन्द्रहरूबाटै रिफर गर्ने व्यवस्था पनि मिलाइएको छ।

चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रमहरू अगाडि बढाएको छ। ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत यसअघि पनि ११ हजारभन्दा बढी नागरिकले निःशुल्क नसर्ने रोग परीक्षण तथा परामर्श सेवा प्राप्त गरिसकेका छन्।

स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट आँखा जाँच र स्वास्थ्य बीमा सेवाको सुरुवातले विशेष गरी निम्न आय भएका र टाढाका बासिन्दाहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ। यो कदमले पोखराका आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।